शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

संशोधन विधेयक अघि बढाउनु पर्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसको प्रदेश नम्बर २ को भेलाले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णायार्थ पेश गर्ने निष्कर्ष निकालेको छ । साथै असोज २ गते हुने चुनावमा पार्टीलाई अधिकतम सिटमा जिताउने लक्ष्य लिएको छ ।
दुई दिनसम्म चलेको प्रादेशिक भेलामा सहभागीहरुले राजपालाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्नु पर्नेमा जोड दिएको छ ।

‘इमान्दारिकताका साथ संशोधन पास गर्न प्रयास गर्नुपर्छ’ भेलाको निष्कर्ष सुनाउँदै धनुषाका सांसद रामकृष्ण यादवले भने, ‘यदि दुई तिहाई पुगेन भने कसका कारण संविधान संशोधन हुन सकेन भनेर जनताको बीचमा जानुपर्छ ।’

भेलाले तीनबुँदे प्रस्ताव पास गर्दै संविधान संशोधनको पक्षमा मतदान गरी राजनीतिक निकास लिन प्रमुख विपक्षी एमालेसहितका राजनीतिक दलहरुलाई आहृवान पनि गरेको छ ।

एक नेताका अनुसार भेलामा बोल्ने नेताहरुले सकेसम्म राजपालाई सहमतिमा ल्याउनु पर्ने र नभए पनि संशोधनलाई भोटिङमा लैजानु पर्नेमा जोड दिएका छन् । भेलाले राजपालाई स्थानीय चुनावमा सहभागी हुन आहृवान गरेको सांसद महेन्द्र यादवले जानकारी दिए ।

दुई दिनसम्म चलेको भेलामा सहभागीहरुका आआफ्नो धारणा राख्नुका साथै समूहगत छलफल पनि गरेका थिए । टिकट वितरण उपयुक्त र असन्तुष्टिलाई सम्बोधन गर्न सके सके कांग्रेसले १२७ मध्ये अधिकतम स्थानीय तह जित्ने उनीहरुले सुनाए ।

भेलामा पूर्वमहामन्त्री विमलेन्द्र निधिले १२७ स्थानीय तह मध्ये १०० मा जितेर प्रदेश नम्बर २ मा मात्र होइन, राष्ट्रिय स्तरमै कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्ने बताएका छन् ।

जिल्ला सभापतिहरुले यो असम्भव नभएको तर, टिकट गुटका नेतालाई नभई जित्नेलाई दिनु पर्ने र टिकट नपाउँदा देखिने असन्तुष्टि सम्बोधन गर्नु पर्ने बताएका छन् ।