मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

कलाकार सूर्यमालाचाहिँ नेपाल नफर्किएकी हुन् ?

सूर्यमाला शर्माको नाम त कत्तिले बिर्सिसकेका छन् होला । नबिर्सिउन् पनि कसरी ? यी पात्रलाई नेपाली सञ्चारमाध्यमले केही स्थान दिनुपर्छ भन्ने आवश्यक नै ठानेनन् । यी पात्रलाई त नेपाली सञ्चारमाध्यमले यसरी दबाए कि उनका बारेमा लेखिदिने, बोलिदिने कोही भएन । उनको नाम सरोज खनालको स्वदेश फिर्तीको समाचारमा यसरी दबियो कि मानौं उनको कुनै स्वतन्त्र अस्तित्व नै छैन ।

saroj-and-suryamalसूर्यमाला शर्मा, रंगमञ्चमा एक स्थापित नाम थियो, झण्डै २ दशक अगाडि । रंगमञ्चको साथसाथै भर्खरै वामे सर्दै गरेको नेपाल टेलिभिजनमा आउने टेलिचलचित्रहरुमा पनि उनलाई हामीले देखेका थियौं । एक सशक्त अभिनेत्रीका रुपमा स्थापित थियो यो नाम । समयक्रमसँगै कलाकार सरोज खनालसँग उनको बिहे भयो । बिहेसँगै दुई छोराकी आमा बनेसँगै आफ्ना श्रीमान् सरोज खनालसँगै अमेरिका पुगेकी सूर्यमालाले पनि परदेशमा १७ वर्ष काटिन् ।

जब यो दम्पत्ति अमेरिकामा सन् १९९० को दशकमा भासियो तब नेपालमा ‘सरोज खनाल अमेरिका भाँसियो’ भनेर खुब हल्लाखल्ला भयो । सन् २०१५ मा फेरि यो जोडी नेपाल फर्कियो तब फेरि हल्लाखल्ला भयो ‘सरोज खनाल नेपाल फर्कियो’ भनेर । यसबीचमा सूर्यमाला शर्मा नाम गरेकी कलाकार पनि नेपाल फर्किन् भनेर कहीं पनि उल्लेख भएन ।

९० को दशककै नेपाली चलचित्रकी नायिका सारंगा श्रेष्ठको विचारमा यो हुनुका पछाडि नेपाली मिडिया दोषी छ । सारंगा भन्छिन्-” नेपाली सञ्चारमाध्यम पहिले पनि महिलामैत्री थिएन र अहिले पनि छैन । हाम्रो समाज पितृसत्तात्मक छ अनि सञ्चारमाध्यम पनि त्यसबाट माथि उठ्न सकेको छैन ।

कलाकारका रुपमा उनीबाट हामीले धेरै कुरा सिकेका थियौं । रंगमञ्च र कलकारितामा उनको योगदानलाई शब्दमा बयान म गर्न सक्दिँन । उनले आफ्नो लोभलाग्दो करियर नै बच्चा र परिवार भनेर चटक्कै छाडिन् । यो त्यागको कुरा मिडियाको विषय कहिले बनेन । उनलाई त कलाकार सरोज खनालको श्रीमतीको रुपमा यसरी कैद गरियो कि उनी बाहिर आउनै सकिनन् ।”

सिर्जनाका आँखाहरु, बन्धकमा परेको जिन्दगी, उज्यालोतिर, मुक्ति संघर्ष, फुल्वा, यस्ता धेरै अनगिन्ती नाटक र टेलिचलचित्रहरुमा गरेको उनको अभिनयले त्यतिबेला दर्शकका मनमा अर्कै छाप छाडेको छ ।

सरोज खनाल जसरी चलचित्रमा पाइला नचाले पनि उत्कृष्ट अभिनय क्षमताकी धनी थिइन् उनी । ” – सूर्यमालाकै समयकै निकै नै चर्चित अभिनेत्री सूवर्ण क्षेत्री भन्छिन् । “एक त सूर्यमाला रंगमञ्चमा बढी जमिन्, अनि तपाई सञ्चारकर्मीहरुले त्यतिखेर हामी रंगमञ्चको कलाकारलाई वास्तै नगर्ने, अहिले झन् उनी पुरै सुस्ताएकी छिन्, अहिले तपाईहरुले -सञ्चारकर्मी ) वास्ता गर्ने त कुरै भएन ।” उनले थपिन् ।
के साँच्चै हामी सञ्चारकर्मीहरुले सूर्यमाला माथि अन्याय नै गरेको हो त या उनी मिडियामा आउन नचाहेर पो हामीले उनलाई अगाडि ल्याउन नसकेको हो कि ? यो प्रश्न गरियो अमेरिकाको बाल्टिमोर शहरमा बसोबास गरिरहेका कलाकार प्रेमराजा महतलाई ।

उनी भन्दै थिए – “साँच्चै यो पाटो मिडियामा आएकै छैन । मैले पनि यो पक्षबारे ध्यानै दिइँन । केहि समय सरोजजी र मसंगै बसेका पनि हौ । अमेरिका हुञ्जेल उनको परिवारसँग मेरो बाक्लो सम्बन्ध थियो । सूर्यमाला बहिनीले कसरी दुई छोरा हुर्काइन्, त्यो मलाई थाहा छ । आफ्नो परिवारको लागि आफ्नो इच्छा र आकांक्षालाई मारेर अगाडि बढेको त्यो त्यागको जत्ति सराहना गरे पनि पुग्दैन । तर, के गर्नु यस्ता कुराहरु तपाई पत्रकारहरु अगाडि ल्याउनै हुन्न ।” उनले थपे – “उनको त्यागको प्रसंग नै नउठाउनु साँच्चै अन्याय नै गरिएको छ जस्तो लाग्छ मलाई । “

सरोज खनालसँग पनि यही प्रश्न गरियो ।  कतैं हामी सञ्चारकर्मीले अन्याय त गरेनौं ? उनले भने -“हैन, त्यस्तो होइन, उहाँ मिडियामा आउन खासै चाहनुहुन्न । “

लेखक : अनुज थापा

उनले यो पंक्तिकारसँगको यो संवादमा छोटो जवाफ दिएपश्चात केही दिनपछि उनी एक कार्यक्रममा झुल्किए । उक्त कार्यक्रममा एक जना दर्शकले उनलाई सोधें-“अमेरिका बस्नुपर्दाको सबैभन्दा ठूलो पश्चाताप के रह्यो ?”
उनको जवाफ थियो -“सबैभन्दा ठूलो पश्चाताप मैले एक क्षमतावान् कलाकार सूर्यमाला शर्मालाई पनि उनको विचार र इच्छा नबुझी सँगै लिएर गएँ । उहाँको के इच्छा थियो भनेर मैले बुझ्नै खोजिनँ। त्यसैले होला उहाँ अमेरिका गएपछि पनि कहिल्यै स्टेजमा आउनुभएन । बरु म त्यता पनि धेरथोर अभिनय गरिरहें । तर, सूर्यमालामा सायद केही गुनासो मनमा रहेको हुनुपर्छ ।”

साँच्चै नै सूर्यमालालाई केही गुनासो रहेको हुनुपर्छ । रंगमञ्चमा यति स्थापित यो नाम एकाएक किन यसरी हराउन पुग्थ्यो त ? सूर्यमालालाई हामीले सरोजसँग यसरी उन्यौ कि उनको सुवास र रंग कता हरायो कसैलाई पत्तै भएन ।

यो पंक्तिकारलाई बरु हाम्रो देशका पाठक र दर्शकलाई नमन गर्न मन लागेको छ, जसले सूर्यमालाको अस्तित्वबारे सरोज खनाललाई पनि बोल्न बाध्य पारें ।

सूर्यमालाबारे सरोज खनालले आफैं चाहिँ किन नबोलेको ? भनी रिस गर्नु खासै जायज पनि छैन । आखिर सोध्नुपर्ने पत्रकारले नै नसोधेपछि सरोज खनालले पनि कसलाई भन्ने र ?

सरोज खनाल नेपाल फर्किए भन्ने समाचारलाई यति धेरै प्राथमिकता दिइयो कि ‘सूर्यमाला पनि फर्किएकै छिन् है’ भन्नै हेक्का हामी कसैले राखेनौं । सूर्यमाला सरोज खनालकी श्रीमती मात्रै होइनन्, एक स्थापित कलाकार पनि हुन् है भनी पाठक वा दर्शकलाई भन्न जरुरी पनि ठानेनौं ।

कलाकार सारंगा श्रेष्ठले भनेजस्तै के हाम्रो पत्रकारिता पनि पितृसत्तात्मक सोचबाट ग्रसित नै हो त ? के सूर्यमाला शर्मा नेपाल फर्किएको हेडलाइन बनाउँदा हाम्रो यो सोचलाई ठेस पुग्छ हो ? सूर्यमालाले आफ्नो छोरा र श्रीमान्का लागि १७ वर्ष गरेको त्याग समाचार बन्न लायक विषय नै होइन त ? सरोज खनालकी श्रीमतीकै रुपमा मात्रै सूर्यमालालाई कैद गर्नु उनको कलाकारिताको योगदानमाथिको अवमूल्यन होइन र ?
रंगमञ्चमा रमाउने मान्छे अहिले मिडियामा आउन चाहनु हुन्न रे !

साँच्चै किन आउनु र मिडियामा उनी ? आउनुभयो भनें पनि हामी उनलाई कलाकार सूर्यमाला शर्मा भनेर चिनाउँदैनौ, उनी त हाम्रा लागि सरोज खनालकी श्रीमती हुन् जो उनीसँगै नेपाल फर्किएकी पो रहिछन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया