बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

नेपाली चलचित्र क्षेत्रमा गुम्दैछ अनुशासन, सम्मान र इज्जतको संस्कृति

karisma-gharana-bhuwan-and-विजय सुवेदी ‘आवाज’
जब कुनै काम गर्दा मजा र आनन्द लाग्छ, मानिस त्यसमै रमाउँछ । झन्, नाम, दाम र सम्मान पाइने स्थानमा त मानिसको आकर्षण किन नहोला र ? जुन स्थानमा नाम, दाम र सम्मान पाइन्छ, त्यसमा प्रवेश गर्न त्यति सजिलो भने छैन ।

लामो इतिहास नबोकेको नेपाली चलचित्र क्षेत्र पनि हजारौंका लागि सपना, नाम र दाम कमाउने राम्रो बाटो बनेको छ । तर, उचाइमा रहेको मन्दिरको भन्दा घर छेउको मन्दिरको महत्व मानिसले कम राख्छन् भनेजस्तै हुँदैछ नेपाली चलचित्र ।

केही बर्षयता बग्रेल्ती कलाकार, पैसा हुने जो पनि निर्माता, मूर्गा फसाएर निर्देशक बन्ने प्रवृत्ति हावी हुँदै जाँदा चलचित्रले बोकेको सम्मान, इज्जत र अनुशासनको संस्कृति पनि विलीन हुँदैछ । एकले अर्काको अस्तित्व र काम स्वीकार नगर्ने, अरुको कामको नकारात्मक टिप्पणी मात्र गर्ने, आफू भन्दा सिनियरबाट सिक्दा सानो भइन्छ भन्ने प्रवृत्ती हाबी हुँदै जानु, दाह्री फूल्नेवित्तिकै आफू सिनियर भएको घमण्ड चढ्नुले चलचित्र क्षेत्र एउटा राम्रो परिवार भन्दा पनि तपाई र मपाईको संस्कृतिबाट गुज्रन थालेको छ ।

चलचित्र विकास बोर्डले ल्याएको मापदण्डका समयमा देखिएको फेसबुके जुहारीले पनि यो कुराको पुष्टि गर्छ । चलचित्र क्षेत्रमा बषौर्ं बिताएका निर्माता, निर्देशक वा कलाकारप्रति एक-दुई चलचित्र बनाउने निर्माता, निर्देशकले प्रयोग गरेको भाषाले पनि नेपाली चलचित्रमा अरुको अस्तित्व स्वीकार नगर्ने, आफू नै सर्वश्रेष्ठ भन्ने सोचाइ हाबी हुँदै गएको प्रष्ट देखिन्छ ।

‘हमजाएगा’ले गोल हानेजस्तै भयो
नेपाली चलचित्रमा २५ बर्षभन्दा बढी समय बिताइसकेका नायक भूवन केसीलाई अहिले चलचित्र क्षेत्र ‘हमजाएगा’ले गोल हानेजस्तै लाग्न थालेको छ । एउटा चलचित्र कागतालीमा हिट हुने वित्तिकै निर्माता, निर्देशक र कलाकारमा देखिएको मपाइत्वलाई उनी उल्टो जुत्ता लगाएर हमजाएगाले गोल हानेको  उदाहरणसँग दाँज्छन् ।

पहिले अनुशासन नभएका मानिस यो क्षेत्रमा थिएनन् भन्ने होइन । तर, भूवन भन्छन्-‘पहिले अनुशासन कम भएका भन्दा भएका धेरै थिए, अहिले भएका भन्दा नभएका धेरै भए ।’

‘चलचित्रमा आउने मानिसमा यसमै लागेर जीवन सर्मपण गर्ने सोच थियो, चलचित्रमा आउनु भनेको ठूलै सपना थियो । जसका कारण यसको महत्व थियो । तर, अहिले चोक, गल्लीबाट यो क्षेत्र नबुझेरै आउनुहरुको बाहुल्यता भयो, जसका कारण सम्मान र इज्जतको संकृति हराउँदै गयो ।’- भूवनले भने ।

कुनै समय चलचित्रको छायांकन हुँदा कलाकारलाई देख्न र छुन भनेपछि मानिसहरु तँछाड मछाड गर्थे । अहिले यो सबै कलाकारकै कारणले हराउँदै गएको छ । जहाँ पनि सस्तो तबरले पुग्ने, सामाजिक सञ्जालमा जथाभावी उपस्थिति जनाउनुको यसको मुख्य कारण हो । कुनै समय दर्शकका लागि कलाकार भगवान्  जस्ता थिए, अहिले सामान्यभन्दा केही फरक देखिँदैनन् ।

चलचित्र बनाउनेहरुका लागि यो क्षेत्र प्यासन भन्दा पनि रमाइलोका लागि मात्र हुँदै गएको छ । भूवन भन्छन्-‘पहिले आफ्नो चलचित्रको छायांकन नहुँदा अरुकोमा गएर सिक्ने, बुझ्ने चलन थियो । चलचित्र एउटा परिवारजस्तो लाग्थ्यो । सिनियरलाई सम्मान र जुनियरप्रति खुबै माया थियो । तर, अहिलेका नयाँ कलाकार अरुको छायांकनमा गएर सिक्ने त परको कुरा आफ्नै काम पनि रुचीले गर्दैनन्,’- भूवनले कारण खुलाउँदै भने ।

हामी नै हौं भन्ने सोच हावी
नायिका झरना थापालाई लाग्छ, चलचित्र क्षेत्रमा सबै म नै हुँ भन्ने सोच हाबी बनिरहेको छ । यो क्षेत्रमा नराम्रा मान्छे मात्र छन् भन्न पनि नहुने उनको तर्क छ । तर, नयाँ आउने कलाकार, प्राविधिकदेखि सबैमा यो सबै मेरै कारणले भएको हो, चलचित्र नै मेरो हो भन्ने जस्तो भ्रम पलाएको छ, जसका कारण आफू भन्दा सिनियरलाई इज्जत र सम्मान गर्ने बानी हराउँदै गएको छ ।

जो पनि कलाकार बन्दा दर्शकलाई अहिले सुटिङ हेर्न जाने चाहा पनि हुँदैन । कुनै समय कलाकार हेर्न भनेर तँछाड-मछाड गर्ने दर्शक अहिले सुटिङ भैरहेको ठाउँमा पनि खासै वास्ता गर्दैनन् । झरनाले सम्भिmइन्-‘ आफ्नै होम प्रोडक्शनको भए पनि ‘ए मेरो हजुर २’मा म छायांकनमा जानुभन्दा ३ दिन अगाडिमात्र म नायिकाका रुपमा अनुवन्धित भएको थिएँ । हामीलाई नायिका बन्न बहुतै गाह्रो थियो । तर, अहिले चोक-चोकमा, गल्लीमा कलाकार भएका छन् ।’

अहिले छायांकनस्थलमा पुग्दा पहिलेको जस्तो आत्मीयता, अनुशासन र सम्मानको संस्कृति नभएको उनले सुनाइन् । नायक भूवन केसी पनि यो कुरा स्वीकार गर्छन् । अहिले एउटा चलचित्र हतारमा सकेर अर्कोमा काम गर्ने र पैसा कमाइहाल्ने प्रचलन बढेको छ ।

झरना सम्भिmन्छिन्-‘पहिले पहिले नयाँ आउने कलाकार पुरानासँग आफ्नो परिचय दिँदै सम्मान व्यक्त गर्थे । तर, अहिले एउटा चलचित्र खेल्ने वित्तिकै आफूलाई भयंकर ठूलो कलाकार सोच्न चलन हाबी भयो ।’

कमान्डमा राख्न नसक्दा हरायो मर्यादा
जुन ठाउँ परिवारजस्तो लाग्छ, त्यो ठाउँमा काम गर्दाको रमाइलो नै बेग्लै हुन्छ । बलिउडलाई नै हेर्ने हो भने पनि त्यहाँका चर्चित कलाकार आफूभन्दा सिनियरको खुट्टा छुन्छन्, भेट्दा झुक्छन् र आदर देखाउँछन् । सम्भवत यस्ता दृश्य नेपाली चलचित्रमा विरलै देख्न पाइन्छ ।

चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिनालाई लाग्छ, निर्देशक, निर्माताले छायांकनमा आफ्नो क्रिउलाई कमाण्डमा राख्न नसक्दा यस्तो अवस्था आएको हो । १५ बर्षदेखि प्राविधिकको रुपमा काम गर्दै थुप्रै अनुभव संगालेका अनन्त भन्छन्- ‘अहिले निर्माता, निर्देशक, कलाकार नबुझेर आउनु र जो पनि आउनु यसको परिणाम हो ।

२-४ दिन गोजीमा पैसा भइञ्जेल आफूलाई निर्माता हुँ भन्नेहरु त्यसपछि प्राविधिकसँग चुरोटको ठूटो मागेर खान थाल्छन् । अनि कसरी पाइन्छ सम्मान र इज्जत ? कलाकार पनि आफ्नो मर्यादामा बस्दैनन्, जो पनि कलाकार भएका छन् ।

उनको बुझाइमा आफूले नै कमजोर ठाउँ छोडिदिँदा हेपाहा प्रवृत्ति बढेको हो । पहिले पहिले चलचित्रमा काम गर्दा परिवारसँग बसेको जस्तो भान हुन्थ्यो, तर अहिले सबैलाई चुल्हो बाल्ने हतार छ, यसैले पहिलोको जस्तो आत्मीयता र आनन्द नभएको हो । अनन्तले भने ।

‘पहिले-पहिले घरका परिवारलाई छायांकन स्थलमा लैजान मरिहत्ते गरिन्थ्यो, अहिले लैजान पनि लाज लाग्छ’, अनन्तले भने ।

पुराना निर्देशक केपी पाठक चलचित्रमा क्षेत्रमा अनुशासनको कमी भएको स्वीकार छन् । उनको बुझाइमा एकले अर्काको कामलाई स्वीकार गर्न नसक्नु र आफू नै सबै हुँ भन्ने भावना हाबी हुनु मुख्य कारण हो ।

चलचित्र बनाउनु केटाकेटी खेलेजस्तो
कुनै समय थियो, जतिबेला चलचित्रमा ठूला नाम समावेश थिए । ठूला नाम गरेका स्टार, निर्माता, निर्देशक, छायांकार सुटिङमा आउँदा त्यसको क्रेज नै बेग्लै हुन्थ्यो । तर, अहिले चलचित्र केटाकेटी खेले जस्तो भएको छ । पुराना निर्माता सुशील पोख्रेल भन्छन्-‘अहिले चलचित्र बच्चा-बच्ची खेलेजस्तो भयो ।’

मुख्य कुरा चलचित्रमा काम गर्नु भनेको के हो भन्ने सोच नै अहिलेका धेरै चलचित्रकर्मीमा छैन ।’ कसको काम के हो, कसले कसलाई कती सम्मान र इज्जत दिनुपर्छ भन्ने अहिलेका नयाँ चलचित्रकर्मीले नबुझेको सुशीलको भनाइ छ । १-२ लाख हालेर नायक-नायिका बन्ने, ८-१० जना मिलेर चलचित्र बनाउने प्रचलन हाबी हुँदा यो अवस्था आएको उनले बताए ।

अहिलेका धेरै कलाकार, प्राविधिक, निर्माता, निर्देशक फेसबुकमा फोटो हाल्न र चलचित्रमा काम गरे है भनेर हल्ला गर्न काम गरिरहेको आरोप सुशीलले लगाए ।

निर्माता, हल व्यवसायी एवं वितरक प्रदीप उदयको नजरमा नयाँले पुरानालाई सम्मान गर्न नसक्नु र पुरानाले नयाँको अस्तित्व स्वीकार गर्न नसक्नु चलचित्र क्षेत्रबाट इज्जत, मर्यादा र अनुशासनको संस्कृति हराउँदै जानुको मुख्य कारण हो । अहिले चलचित्रमा रमाइलो भए पनि आत्मीयता नभएको उनले बताए ।

समग्रमा
अहिले नेपाली चलचित्र क्षेत्र रहरै रहरमा काम गर्नेहरुको बाहुल्यताले बिग्रिदै गएको छ । स्टारडम, क्रेज चलचित्र क्षेत्रबाट हराउन थालेको छ । यसका साथै, चलचित्रमा काम गर्ने हरेक विधामा मभन्दा अरु को ठूलो छ र भन्ने सोच बढ्दै गएको छ ।

एउटा चलचित्र निर्देशन गर्ने निर्देशकले दर्जनौं चलचित्र निर्देशन गरेकोलाई मान्छे नगन्ने, दर्जन चलचित्र निर्देशन गरेकाले एउटा चलचित्र बनाउनेको कुरै नसुन्ने प्रवृत्ती हाबी छ ।

यस्तो अवस्थामा चलचित्र क्षेत्रमा मर्यादा, आत्मीयता र इज्जतको संस्कृति जोगिन्छ भनेर कल्पना गर्नु बेकारजस्तै छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया