सोमबार, माघ ६, २०७६
www.samsararemit.com

चोरी गरेरै ललितपुरमा घर

चोरी गरेरै रामेछापका केशव खड्काले ललितपुर टीकाथलीमा घर बनाएका छन्, उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए ।

खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको छ भने अरू फरार छन् ।

पछिल्लोपटक खड्का समूहले सानेपास्थित डा. सन्तोष शाक्यको घरबाट १० लाख ८० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको दर्जनौँ चोरी खुलेको हो । ६ वटा ठूला चोरी खुलिसकेको र थप अनुसन्धान जारी रहेको डिएसपी दयानिधि ज्ञवालीले बताए ।
उनीहरूले ०६५ देखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ । १५ मंसिर ०७१ मा झम्सीखेलस्थित रमा केसीको घरबाट पाँच लाख ८६ हजार, एकान्तकुना बस्ने विदेशी नागरिक एमोस स्टोल्जफसको डेराबाट २२ वैशाख ०६६ मा दुई लाख ८० हजार र ३ साउन ०६६ मा दुई लाख ५८ हजारबराबरको धनमाल, २० चैत ०६५ मा सानेपामा विदेशी नागरिक माइबल बेस्टनको घरबाट एक लाख ९१ हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।

रामेछाप बेथान घर भएका मुख्य नाइके खड्काको ललितपुरको टीकाथलीमा भव्य घर छ । आपराधिक गतिविधिबाटै कमाएको पैसाले उनको घर किनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काको सो घरको पनि छानबिन हुनेछ ।नयाँ पत्रिका बाट।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया