मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

फोर्ब्सको धनी सूचिमा आचार्य बालकृष्ण

पतञ्जली योगपीठका आचार्य बालकृष्ण अब अमेरिकी पत्रिका फोर्ब्सको धनीहरूको सूचीमा सामेल भएका छन्। फोर्ब्सले सार्वजनिक गरेको भारतका सय धनीहरूको सूचीमा साढे दुई अर्ब अमेरिकी डलर सम्पत्तिसहित आचार्य बालकृष्ण ४८ औं स्थानमा परेका छन्। २२.७ अर्ब डलर सम्पत्तिसहित रियालन्स इन्डष्ट्रिजका मुकेश अम्बानी सो सूचीको पहिलो स्थानमा परेका छन्।

बाबा रामदेवको पतञ्जली योगपीठमा ९७ प्रतिशत सेयर रहेका आचार्य बालकृष्णलाई अघिल्लो साता हुरुन इण्डिया रिच लिस्टमा भारतको २५ औं धनीको सूचीमा राखिएको थियो। सो सूची सार्वजनिक गरेको संस्थाले बालकृष्णको सम्पत्ति ३. ८ अर्ब डलर भएको बताएको थियो।

फोर्ब्सको संसारका धनी व्यक्तिको सूचीमा यो वर्ष १५७७ औं स्थानमा परेका नेपालका विनोद चौधरीको सम्पत्तिका १. २२ अर्ब अमेरिकी डलर रहेको छ । नेपालको स्याङ्जा पुर्खौली घर भएका ४४ वर्षिय बालकृष्ण पछि बाबा रामदेवको सम्पर्कमा आएका थिए।

वि.सं. २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा जन्मिएका उनी ३ महिनाकै उमेरमा पुर्ख्यौली घर स्याङ्जा फर्किएका थिए। उनका बुबा जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको थियो।

१३ वर्षसम्म गाउँमै बसेका उनले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। १३ वर्षकै उमेरमा घर छोडेका उनी फेरि हरिद्वारसम्म पुगेका थिए । आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुँदै आचार्य बालकृष्ण बनेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया