मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

एटीएम ह्याक गर्ने दुई बुल्गेरियाली पर्यटक पक्राउ

बैंकको एटीएममा नक्कली कार्ड घुसाएर पैसा निकाल्न खोजेको आरोपमा कास्की प्रहरीले बुल्गेरियाली दुई पर्यटकलाई बिहीबार राति पक्राउ गरेको छ । एटीएम मेसिन ह्याक गरेर पैसा निकाल्न सक्ने थुप्रै सामान पनि प्रहरीले  बरामद गरेको छ ।
इभानोभ मर्पिन हृतोभ र लुसियानोभ रामोन बिभोभ नामका दुई पर्यटक पक्राउ परेका छन् । दुवै जनालाई केन्द्रीय अनुसन्धान ब्युरोमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले विभिन्न बैंकका एटीएम मेसिनमा पुगेर गरेका शंकास्पद गतिविधिका आधारमा बैंकले प्रहरीलाई खबर गरेका थिए । त्यही सुराकीको आधारमा उनीहरुलाई प्रहरीले खोजेर समात्न सकेको हो ।
प्रहरीले तीन लाख रुपैयाँसहित विभिन्न सामान बरामद गरेको छ । तीन थान ल्यापटप, स्क्रु ड्राइभर, ६ वटा एटीएम कार्ड, सोल्डिङ आइरन, १४ थना डाटा केबुल, डिजिटल मल्टिमिटर, हट गन ग्लु, लुकीछिपी दृश्य हेर्न मिल्ने चश्माहरु, स्क्रीनिङ मेसिन लगायत सामान बरामद भएको पनि प्रहरीले जनाएको छ ।
अपार्टमेन्टमा उनीहरु मासिक ५ सय ५० अमेरिकी डलर तिरेर बस्दै आएको पनि खुलेको छ । ‘एटीएमबाट पैसा निकाल्न नभ्याएको भए पनि फ्रड गर्न सक्ने विभिन्न सामान फेला परे’, एसएसपी गौतमले भने, ‘थप अनुसन्धानका लागि सीआइबीमा पठाउँछौं ।’
गएको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका उनीहरुको भिसा म्याद आउँदो वैशाख ५ गतेसम्म देखिएको पनि एसएसपी गौतमले जानकारी दिए । यसअघि पोखरामा गएका साउन पहिलो साता बैंकिङ ठगीको आरोपमा कास्की प्रहरीले दुई युवा पक्राउ गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया