मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

महिला टी–ट्वान्टी विश्वकप छनोटका लागि २२ खेलाडी छानिए

महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि २२ जना नेपाली खेलाडी छनोट भएका छन् । छनोट कमिटीले ४४ जना प्रारम्भिक खेलाडीबाट २२ जना खेलाडीको टुंगो लगाएको हो ।

आईसीसीका प्रतिनिधि अमिन्यूल इस्लाम, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला क्रिकेट टिमका प्रशिक्षक सामसोन जंग थापा र कप्तान रुविना क्षेत्रीको छनोट कमिटीले शुक्रबार (आज) खेलाडी छनोट गरेका हुन् । छनोट भएका खेलाडीमा कप्तान रुविनासँगै सीता राना मगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितु भण्डारी, एलिस क्षेत्री रहेका छन् । त्यस्तै कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगिता राई, अन्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सव्नम राई पनि छनोट भएका छन् ।

प्रारम्भिक चरणमा ४४ जना खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएको थियो । पछिल्लो एक वर्षको प्रदर्शनको आधारमा उनीहरुलाई क्याम्पमा समावेश गरिएको थियो । कात्तिक ७ गतेदेखि ९ गतेसम्म टियु क्रिकेट मैदानमा भएको अभ्यासपछि खेलाडी छनोट गरिएको हो ।

नोभेम्बर २० तारिखदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा आयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्र रहेका छन् । नेपालले पहिलो खेल नोभेम्बर २० तारिखमा आयोजक थाईल्याण्डविरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले नोभेम्बर २१ तारिखमा हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसंँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टिमले फाइनल खेल खेल्नेछन् । उपाधि विजेता टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया