शनिबार, असार २७, २०७७
www.samsararemit.com

एचआईभी संक्रमितको मृत्युदर घट्दो

कैलालीमा एचआईभी संक्रमण घट्नुका साथै संक्रमितको मृत्युदर पनि घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ । ३० औं विश्व एड्स दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थ केयर फाउण्डेसनले एड्स संक्रमण र संक्रमतिको मृत्युदर घट्दै गएको तथ्यांक सार्वजनिक गरेको हो ।

पछिल्लो समय जनचेतनाको विकाससँगै संक्रमितले एआरभी औषधिको सेवन गर्न थालेपछि एचआइभी एड्स संक्रमण र संक्रमितको मृत्युदर कम हुँदै गएको सरोकारवाला बताउँछन् । जिल्ला एड्स हेल्थ फाउण्डेशन कैलालीको तथ्यांकअनुसार कैलालीमा पछिल्ला वर्षहरुमा एचआईभीको संक्रमण घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७२–०७३ मा एचआईभी एड्सबाट ४० जनाको ज्यान गएकोमा २०७३–०७४ २० जनाको ज्यान गएको थियो । चालू आर्थिक वर्षको चार महिनामा भने १० जना संक्रमितको ज्यान गएको एड्स हेल्थ केयर फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक माधव पन्तले जानकारी दिए ।

कैलालीमा धनगढीस्थित सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल परिसरमा एआरटी सेन्टर सञ्चालित छन् । कैलालीमा हाल १ हजार १ सय ८९ जनाले नियमित रुपमा एचआइभी एड्स विरुद्धको औषधि सेवन गरिरहेका छन । अहिले चेतना विस्तारसंँगै संक्रमण कम हुँदै गएकाले चेतनामूलक कार्यक्रमलाई ग्रामिण क्षेत्रसम्म प्रभावकारी रुपमा लैजान सके संक्रमणको अवस्थालाई धेरै कम गर्न सकिने सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट कपिल गौतमले बताए ।

पछिल्लो तथ्यांकअनुसार देशभर नै एचआइभी एड्स संक्रमणको अवस्था कम हँुदै गइरहेको छ । अहिले देशभर ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको अनुमान गरिएको भए पनि ३० हजार २ सय संक्रमितमात्रै दर्ता भएका छन् ।

विश्व एड्स दिवस एचआइभी एड्स रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । डिसेम्बर १ मा एड्स दिवसको अवसरमा धनगढीमा प्रभातफेरी निकालिएको छ । एक सातासम्म हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, सूचना सन्देश प्रसारण, कण्डम वितरण र निःशुल्क एचआईभी परीक्षण र परामर्शलगायतका कार्यक्रम गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया