सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

देउवा, ओली र दाहालको माघे संक्रान्ति शुभकामना यस्तो छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, (नेकपा)एमाले अध्यक्ष केपी शर्मा ओली र (नेकपा) माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै, उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ”–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

ओलीको शुभकामना

(नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

माघ १ गते मनाइने माघी पर्व थारु समुदायमात्रको नभई आम नेपालीको विशेष पर्व हो भन्दै शुभकामना सन्देशमा अध्यक्ष ओलीले माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेको बताएका छन् ।

माघीलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेको उल्लेख गर्दै उनले नेपाल १२५ जाति र १२३ भाषाभाषी भएको देश भएकाले देशमा बसोबास गर्ने हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य मान्यता रहेको चर्चा गरेका छन् ।

अध्यक्ष ओलीले सरकारले माघी पर्वलाई राष्ट्रिय मान्यता प्रदान गरिसकेको परिप्रेक्ष्यमा आगामी दिनमा अपनत्वबोध हुने गरी भाषा, संस्कृतिको रक्षा र प्रवद्र्धनमा काम गर्ने विश्वास व्यक्त गरे ।

दाहालको शुभकामना

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

दाहालको शुभकामनामा छ, नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

माघे संक्रान्ति र माघी पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । अध्यक्ष दाहालले राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीमा सहयोग र सहकार्यका लागि अपील समेत गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया