मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

माओवादीबाट प्रदेश- ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिफारिस

माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।

उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।

उनले भने, ‘अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए । बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन् ।

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली कांग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया