सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

चमेलियाको ३० मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

नेपाल विद्युत प्राधिकरणले ११ वर्षमा बनाएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुला र बैतडीको सीमामा पर्ने चमेलिया आयोजना शनिबार उद्घाटन गरेका हुन् । प्राधिकरणले २०६४ सालमा बनाएको ७० मेगावाटको मध्यमर्स्याङ्दीपछि कुनै पनि आयोजना बनाउन सकेको थिएन ।

आयोजना ठेक्का रकमभन्दा दोब्बर बढीमा सम्पन्न भएर प्रतिमेगावाट ५३ करोड रुपैयाँको इतिहास कायम गरेको छ । प्राधिकरणले हालसम्म निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैया भन्दा माथि छैन ।

यस आयोजनाबाट उत्पादित बिजुली एक सय ३१ किलोमिटर लामो प्रसारण लाइनबाट धनगढीस्थित अत्तरियामा जोडिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले दार्चुलामै उत्पादन भएको विद्युत दार्चुलाबासीले बाल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट बत्ती बाल्न पाउने पहिलो हक सुदूर पश्चिमका स्थानीयको भएको पनि बताएका छन् । चमेलियाबाट विद्युत् उत्पादन सुरु भएपछि स्थानीय क्षेत्रमा उद्योगधन्दा सञ्चालन भई रोजगारी बढ्ने उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना करिब १५ अर्ब रुपैयाँमा पुरा भएको बताए । यसलाई आधार मान्दा चमेलिया प्रतिमेगावाट ५० करोड रुपैयाँमा पूरा भएको छ ।

एघार वर्षअघि निर्माण सुरु भएको चमेलिया अनुमानित लागत भन्दा दोब्बर बढीमा सम्पन्न भएको हो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको हालसम्मको लागत १५ अर्ब रुपैयाँ पुगेको बताए ।

यसमध्ये विद्युत् गृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकल कार्यका लागि करिब सात अर्ब ८४ करोड, परामर्श सेवामा ६० करोड गरी ८ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको घिसिङले बताए ।

उनका अनुसार आयोजनाको हाल सम्मको खर्च र भेरियसन क्लेम (ठेक्का भन्दा बाहिरको खर्च दाबी) समेत गरी आयोजनाको कूल लागत करिब १५ अर्ब रुपैयाँ पुगेको छ । ठेक्का हुँदा आठ अर्ब ५४ करोड रुपैयाँ लागत भएको आयोजना ११ वर्षपछि बनिसक्दा लागत करिब दोब्बर भएको हो ।

धसिएको सुरुङ सीधा पार्ने क्रममा २८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालीन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सम्पूर्ण भुक्तानी रोक्का गर्न निर्देशन दिएको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया