सोमबार, माघ ६, २०७६
www.samsararemit.com

लागू औषध: उत्पादन, कारोबार र दुर्व्यसनी बढ्दो

लागू औषधको उत्पादन, कारोबारी र दुर्व्यसनीको संख्या मकवानपुरमा वर्षेनी बढ्दो छ ।

प्रहरीले गाँजाको व्याड नै नष्ट गरेपनि, कारोबारी पक्राउ परेपनि र दुब्र्यसनीहरुलाई परामर्श गरेपनि लागू औषध उत्पादन, कारोवारी र दुब्र्यसनीको संख्या दिनप्रतिदिन बढ्दो छ । गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखाद्वारा हेटौंडामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको तथ्याङ्कले सो कुराको पुष्टि गरेको हो ।

गृह मन्त्रालय लागू औषध नियन्त्रण कार्यक्रममा उपसचिव कृष्णप्रसाद शर्माले मुलुकमा कडा लागू औषधको सेवन गर्ने दुव्र्यसनीहरु करिब २ लाख भन्दाबढी भएको तथ्याङ्क प्रस्तुत गरे । त्यसमध्ये मकवानपुरमा लागू औषध दुब्र्यसनीको संख्या करिब १० हजार भन्दाबढी भएको उनले बताए । तीमध्ये हेटौंडामा कडा दुव्र्यसनीको संख्या २ हजार ५ सयदेखि ३ हजार  रहेको अनुमान छ उपसचिव शर्माले बताए ।

२०६८ सालमा मकवानपुरमा ४ सय ८१ जना मात्र दुब्र्यसनी थिए । अहिले त्यो संख्यामा वृद्धि भएको छ । लागू औषध नियन्त्रण क्षेत्रका क्रियाशिल सरकारी, गैरसरकारी संघसंस्था र सरोकारवालाहरुकोबीच आयोजना गरिएको सो कार्यक्रममा मुलुकमा लागू औषध दुव्र्यसनीको संख्या वर्षेनी ११ दशमलव ३६ प्रतिशतले थपिदै गएको उपसचिव शर्माले जानकारी दिए ।

मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले मकवानपुरको लागू औषध गाँजा र अफिम खेती व्याँडदेखि खेतीसम्म नष्ट गर्दै आएको बताए ।  छिमेकी धादिङ जिल्लामा उत्पादन भएको गाँजा खेतीको भारत निकासी गर्ने यही रुट भएकाले मकवानपुरमा गाँजा कारोवारी, भरिया र गाँजा प्रहरीले वर्षेनी नियन्त्रणमा लिंदै आएको छ । पक्राउ पर्ने र गाँजा बरामद भएको संख्या वर्षेनी बढ्दै गएको उनको भनाई थियो ।

त्यही रुपमा युवायुवतीहरु पनि दुव्र्यसनीमा फस्दै गएका छन् । ८ कक्षा देखि १२ कक्षासम्म अध्ययन गर्ने अधिकांश छात्रछात्राहरु लागू औषधको कुलतमा फस्ने गरेका छन् । हेटौंडाको प्रहरीले चालु आवको ७ महिनामा १ सय ४२ जनालाई लागू औषधसहित पक्राउ गरेको छ । यो अवधीमा प्रहरीले एक हजार १ सय २९ केजी गाँजा,४२ केजी चरेश, ३० ग्राम हिरोइन र ६ हजार ५ सय पिस विभिन्न किसिमका लागू औषध बरामद गरेको प्रहरी उपरिक्षक खनालले तथ्याङ्क प्रस्तुत गरे ।

चालु आवमा मकवानपुरमा ७ हजार ७ सय ७५ कठ्ठा जमिनमा लगाएको गाँजा, गाँजाको व्याड र ५ सय ७५ कठ्ठा जमिनमा लगाएको अफिम खेती नष्ट गरेको उनले जानकारी दिए । अफिम खेती अहिले पनि प्रहरीले नष्ट कार्य गरिहेको उनको भनाई थियो ।

मकवानपरको विशेष गरी उत्तरी पश्चिमी क्षेत्रमा पर्ने कैलाश र राक्सिराङ गाउँपालिका अत्यन्त विकट भुभागमा गाँजा र अफिम खेती गर्ने गरिएको छ । गाँजा खेतीलाई विस्थापित गर्न गाउँपालिका सक्रिय हुनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका थिए । दुर्गम क्षेत्रमा मोटरबाटो पुर्‍याउनु पर्ने र उनीहरुलाई तरकारी खेती एंव नगदेबाली तर्फ आकर्षित गर्नु पर्ने सहभागीहरुले राय व्यक्त गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया