शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

बुद्ध मूर्ति बिक्री गर्न हिँडेका ३ जनालाई चोरी मुद्दा

नुवाकोट: बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका ३ जनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान सुरु गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेका ३ जनालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

नुवाकोटको विदुर नगरपालिका–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा६०प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो ।

अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

यहाँको प्रहरीले अनुसन्धान गर्ने क्रममा मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुद्धको मूर्ति ओसार–पसारमा संलग्नलाई पुरातात्विक ऐनअनुसार कारबाही हुने भएपनि पुरातत्व विभागमार्फत पहिचान गराउन बाँकी रहेकाले तत्काल चोरी अभियोग लगाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त मूर्ति उनीहरुले चोरी गरी बिक्रीको लागि लैजाँदै गरेको प्रहरीको दावी छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया