शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

निगमले भित्र्यायाे राष्ट्रिय ध्वजाबाहक पहिलो वाइडबडी

नेपाल वायुसेवा निगमले बिहीबार पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेकाे छ ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियाे । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हाे । दोस्रो वाइडबडी विमान पनि चाडै ल्याइने निमगले जनाएको छ ।

नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ सिट छन् । याे विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहा–काठमाडौं सेक्टरमा उडान भर्नेछ । तीन महिनापछि मात्रै नयाँ रुटमा उडाउने निगमकाे याेजना छ।

२०४६ सालताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो । तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरू हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहा र दुबईमा मात्रै उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा अन्य दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ मात्र छन् ।

आउँदो महिना थप अर्को वाइडबडी जहाज पनि आइपुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए ।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो । नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले जनाएको छ ।

जहाजको स्वागत गर्न मन्त्री अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतका अधिकारी विमानस्थल पुगेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया