बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

नेपालमा नयाँ एचआईभी संक्रमणको दरमा ६१ प्रतिशतले कमी

नेपालमा एचआईभी संक्रमणको दर घट्दो क्रममा छ । सात वर्षयता नयाँ संक्रमणको दर ६१ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

शुक्रबार एक कार्यक्रममा केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले सात वर्षयता नयाँ संक्रमण घट्दै गएको बताए । उनले भने, ‘सन् २०१० देखि हालसम्म नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ । बालबालिकामा देखापर्ने संक्रमणमा पनि ६३ प्रतिशतले कमी आएको छ ।’

प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यस प्रदेशमा तीन सय ३९ पुरुष, दुई सय ४० महिला र ६ जना तेस्रो लिंगीमा संक्रमण रहेको पाइएको छ । त्यस्तै प्रदेश ३ मा दुई सय ४१ पुरुष, एक सय ८६ महिला र १८ जना तेस्रो लिंगीमा संक्रमण देखिएको केन्द्रले जनाएको छ ।

प्रदेश २ मा दुई सय १४ जना पुरुष र एक सय २० जना महिलामा एचआईभी भाइरस देखापरेको छ । प्रदेश १ मा एक सय ५३ पुरुष र ८७ महिलामा संक्रमण भएको बताइएको छ । यस प्रदेशमा नौ जना तेस्रो लिंगीमा पनि एचआईभी भाइरस पाइएको छ ।

यसैगरी प्रदेश ७ मा एक सय ४२ पुरुष र एक सय एक जना महिला संक्रमित छन् । चार जना तेस्रो लिंगीमा समेत संक्रमण फेला परेको छ। प्रदेश ६ मा सबैभन्दा कम संक्रमित पाइएका छन् । यहाँ पुरुष १७ र महिला सात जनामा संक्रमित छन् ।

केन्द्रका अध्यक्ष डा.तारानाथ पोखरेलले एचआईभी संक्रमण हुनुको पहिलो कारण असुरक्षित यौनसम्बन्ध रहेको बताए । संक्रमितमध्ये ७६ प्रतिशतलाई असुरक्षित यौनसम्पर्कबाटै लाग्ने गरको छ । १५-४९ उमेर समूहका व्यक्तिमा संक्रमण बढी देखिएको छ । केन्द्रका तथ्यांक अधिकृत वीरबहादुर रावलका अनुसार, सुईद्वारा लागुपदार्थ लिने र पुरुष समलिंगीमा भने संक्रमणको दर बढेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया