शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

ब्याजमा प्रतिस्पर्धा नगर: राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नलाग्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । मंगलबार आकस्मिक रूपमा बैंकर्स एसोसिएसन र ब्याजदर बढाउने बैंकका प्रमुख कार्यकारी अधिकृतलाईलाई बालुवाटार डाकेर राष्ट्र बैंकले ब्याजदर बढाबढको लडाइँ नगर्न निर्देशन दिएको हो ।

नबिल र हिमालयन जस्ता स्थापित र पुराना बैंकले समेत ब्याज उच्च दरमा बढाउन थालेपछि राष्ट्र बैंकले ब्याजदरमा प्रतिश्पर्धा नगर्न सुझाव दिएको हो ।

बैंकहरूले पछिल्लो समय निक्षेप बढाउन ब्याजदरमा प्रतिश्पर्धा गर्न थालेका छन् । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले ब्याजदरमा गरेको प्रतिस्पर्धाले कसैलाई फाइदा नपु¥याउने भन्दै ऋण लगानीमा संयमित हुन सुझाएको जानकारी दिए। ‘२५ प्रतिशतले ऋण विस्तार भइसकेको छ । बैंकहरूले निक्षेपको ब्याजदरमा होडबाजी गर्न थालेपछि संयमित हुन भनेका छौं’, उनले भने, ‘ब्याजको स्थायित्व हाम्रो एजेन्डा हो ।’ होडबाजीले वित्तीय स्थायित्वमा असर गर्ने भन्दै उनले बैंकहरूले आफ्नो मनोमानीमा ब्याजदर बढाउँदै लैजान नहुने उनको तर्क छ ।

राष्ट्र बैंकले हालको तरलता अभावका विषयलाई लिएर छलफल गरेको हिमालयन बैंकका सीईओ अशोकशम्शेर राणाले बताए । ‘ब्याजदरको विषयमा छलफल भएको हो’, उनले भने, ‘बंैकर्स एसोसिएसनले ब्याजदर खुला गरेको छ, संयमित भएर अघि बढ्न राष्ट्र बैंकले सुझाएको छ ।’ खासमा राष्ट्र बैंकले तरलता अभाव र यसका समस्याका बारेमा सल्लाह सुझाव मागेको राणाले बताए ।

हिमालयन बैंकले लगानीयोग्य पुँजी अभावका कारणले व्यक्तिगत निक्षेपको ब्याजदर नबढाइएको राणाको दाबी छ । ‘अन्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा वृद्धि गरेपछि हामीले पनि आफ्ना ग्राहकलाई सेवा दिन ब्याजदर बढाएका हौं’, राणाले भने, ‘प्रतिस्पर्धा गर्न होइन ।’

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकको ब्याजमा प्रतिस्पर्धा नगर्न सुझाइरहँदा बैंकहरूले भने ब्याज बढाउन तछाडमछाड गरिरहेका छन्। बैंकर्स एसोसिएसनले मंसिर दोस्रोे साता व्यक्तिगत निक्षेपमा ब्याजदरको सीमा हटाएपछि बैंकले ब्याज बढाएर निक्षेप आकर्षित गर्न थालेका छन्।

बैठकले व्यक्तिगत मुद्दती निक्षेप, साधारण बचत र १० वर्षभन्दा बढी समय अवधिको संस्थागत मुद्दती निक्षेपको ब्याज निर्धारणमा लचिलो हुने निर्णय गरेको थियो । त्यसयता बैंकहरूले आफ्नो आवश्यकताअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्न थालेका छन् । एसोसिएसनको पछिल्लो बैठकले बचतको ब्याज ७ प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । यसअघि साधारण बचतकर्ताका लागि बैंकर्सले ५ प्रतिशत तल्लो सीमा र ७ प्रतिशत माथिल्लो सीमा निर्धारण गरेका थिए । पुँजी आधार बलियो भएका बैंकले भने अहिले ब्याजदर बढाएका छैनन् ।

पछिल्लो समयमा वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएपछि ब्याजदरमा बैंकहरू प्रतिस्पर्धी देखिएका छन् । गत वर्ष लगानीयोग्य पुँजी अभाव भएको बेला राष्ट्र बैंक र अर्थ मन्त्रालयको सहमति जुटाएर बैंकर्सले पटकपटक निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए । कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपातमा दबाब परेका र संस्थागत निक्षेप कुल निक्षेपको ४५ प्रतिशत वा त्यसभन्दा माथि पुगेका बैंकले ब्याजदर बढाएर व्यक्तिगत निक्षेप आकर्षित गर्ने नीति लिएका हुन् ।

करिब एक दर्जन बैंकहरूले मुद्दती निक्षेपको ब्याज बढाउँदासम्म कानमा तेल हालेर बसेको राष्ट्र बैंकले सवल र ठूला कहलिएका हिमालयन र नबिल बैंकले ब्याज बढाएपछि बोलाएर छलफल गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया