सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

सेयर बजारमा बढ्यो उत्साहः ३२ अंकको सुधार

सेयर बजारमा लगानीकर्तामाझ उत्साह थपिएको छ । नीतिगत र संरचनागत सुधारको भोकमा लामो समयदेखि असन्तुष्ट लगानीकर्ता अर्थमन्त्रीले गठन गरेको एक समूहले दिएको सुधारको सुझावले उत्साहित भएका हुन् ।

सरकारी समतिले वित्तीय स्थायीत्व कायम गर्न ब्याजदरमा स्थिरता कायम गर्ने, सेयर बजारमा स्थायित्व कायम गर्ने, ऋणपत्र बजारको विकास गर्ने, बैंक तथा वित्तीय क्षेत्रको संरचना सुधार गर्न ५८ बुँदे प्रतिवेदन अर्थमन्त्रीसामू पेश गरेको हो । प्रतिवेदन भएसँगै आन्दोलनरत लगानीकर्ताको प्रतिरोध मत्थर भएको छ भने सेयरमा लगानी गर्न उनीहरु उत्साहित देखिएका छन् ।

गत साताभर १७ अंकले बढेको सेयर बजार पहिलो दिनै गत साताभरको भन्दा दोब्बर अंकले बढेको हो । आइतबार नेप्से ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबारको सुधार पछिल्लो ६ महिनाकै उच्च सुधार हो । यसअघि गत असार १८ गते नेप्से ३६ अंकले सुधारिएको थियो ।

समितिले तयार पारेको प्रतिवेदनले नीतिगत सुधार आत्मसात गरेकोले सेयर बजार बढेको जानकारहरुको दाबी छ । प्रतिवेदनकै आधारमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिएपछि लगानीकर्तामा उत्साह देखिएको हो । राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर ब्याजदर घटाउन निर्देशन दिएपछि उनीहरुले सहमति गरेका थिए । यसले सेयर बजारमा प्रभाव जमाएको जानकार बताउँछन् ।

यसो त आइतबार सेयर कारोबार पनि उच्च छ । पहिलो दिन कारोबार रकम ८८ करोड २१ लाख रुपैयाँ पुगेको हो । यसक्रममा १ सय ६४ कम्पनीका २८ लाख ३२ कजार कित्ता किनबेच भए । बिहिबारको तुलनामा कारोबार ४८ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरले वृद्धि गरेको छ ।

नेप्सेसँगै कारोबार रकम बढ्दा सेन्सिटिभ इन्डेक्स पनि ७ दशमलव ३१ अंकल बढेर २ सय ५५ दशमलव ३८ अंकमा पुगेको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया