सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

जोशीको एकै दिन दुई अन्तरिम आदेश: सुमार्गीको रकम नरोक्नू, सीजीलाई लाइसेन्स दिनू

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार दुई अन्तरिम आदेश जारी गरेका छन् । एउटा आदेशमा व्यवसायी अजेयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न भनिएको छ भने अर्को सीजी टेलिकमलाई अनुमति दिनु भन्ने छ ।

जोशी उनै हुन् जसलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । सुमार्गीको लगानीमा संचालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा जम्मा भएको ७५ लाख डलर भुक्तानी रोक्का नगर्न जोशीको एकल इजलासले राष्ट्र बैकलाई आदेश दिएको हो । राष्ट्र बैकले सुमार्गीको उक्त रकमको स्रोत नखुलेको भन्दै भुक्तानी रोक्का गरेको थियो । यसअघि उनले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको झण्डै २ करोड १३ लाख डलर अदालतको आदेशपछि भुक्तानी पाएका थिए ।

उनले २०७० मा करिब ११ अर्व रुपैयाँ नेपाल भित्र्याएका थिए । जसको स्रोत नखुलेको राष्ट्र बैकले बताउँदै आएको छ । सुमार्गीको रकमबारे सम्पत्ति सुद्धिकरण विभागलेपनि छानविन गरिरहेको छ । उनको कम्पनिको नाममा आएको रकमको स्रोत नखुलेको र आवश्यक कागजपत्र पनि पेश नभएको भन्दै राष्ट्र बैंकले रकम भुक्तानी रोक्का गरेपनि अदालतको आदेशबाट उनले भुक्तानी दिँदै आएका छन् । सुमार्गीले ट्याक्स हेभन मानिएको ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसबाट सो रकम ल्याएको बताइन्छ ।

यता दुरसंचार प्राधिकरणले आधारभुत पूर्वाधार नपुगेको भन्दै सञ्चालन अनुमति नदिएको चौधरी ग्रुपको सीजी टेलीकमलाई पनि सञ्चालन अनुमति दिन जोशीकै इजालासले अन्तरिम जारी गरेको छ । दूरसंचार सेवाको लागि प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ । सीजीले प्राधिकरणमा आधारभुत टेलिफोन सेवा सञ्चालको लागि अनुमति मागेको थियो । दूरञ्चारको क्षेत्रमा यो मुद्दाले विशेष अर्थ राख्दै आएको थियो ।

माथि उल्लिेखित दुवै मुद्दा लामो समयदेखि अदालतमा विचाराधिन थिए । आगामी हप्ता अवकाश लिन लागेका प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले बिहीबारबाट कुनैपनि मुद्दा हेरेका छैनन् । यद्यपि मिश्रले सर्वोच्च अदालतमा पेशी चाहीँ तोकिरहेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया