शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

सेयर बजारमा आशा जाग्योः नेप्से सातामै दुईपटक ३० अंकले बढ्यो

यो साता सेयर बजारमा रौनक थपेको छ । अर्थमन्त्री युवराज खतिवडाद्वारा गठित सुझाव कार्यदलले मुद्रा तथा पुँजीबजारमा सुधार र विकास ल्याउने लक्ष्यसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाएपछि लगानीकर्तामा रौनिक थपिएको हो ।

प्रतिवेदन बुझाउनेवित्तिकै रमाएका लगानीकर्ता दुईदिन भने कार्यान्वयनप्रति शंका गर्दै साम्य भएपनि राष्ट्र बैंक स्थायित्वतर्फ अग्रसर हुँदा लगानीकर्ता रमाएका हुन् । तर, उनीहरु स्वयम् ‘तात्तातो खाने’ लोभमा लाग्दा बजारको यो सुधार कायम रहनेप्रति प्रश्न चिह्न खडा भएको छ ।

यससाताको सेयर बजारले उल्लेखित उतारचढाव आत्मसात गर्दा नेप्से परिसूचकले अद्र्धशतकीय सुधार हासिल गरेको छ । एकैसातामा नेप्से दुईपटक ३० अंकले बढ्दा परिसूचकमा ४९ दशमलव २२ अंकको सुधार देखिएको हो ।

साताका पाँच कारोबारमध्ये दुईदिनको उच्च सुधारले बजार बढाउन पर्याप्त बन्यो । सोमबार र मंगलबार कार्यदलको सुझाव कार्यान्वयनप्रति शंका गर्दा लगानीकर्ताका लागि दुर्भाग्य बन्यो । चौथो दिन फेरि बढेको बजार अन्तिम दिन भने ‘प्रफिट बुक’ गर्ने हतारले करेक्सन देखिएको थियो ।

अघिल्लो साताभर कूल १७ अंकले बढेको सेयर बजार पहिलो दिनै ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को बिन्दुमा कायम भएको थियो । आइतबारको सुधार पछिल्लो ६ महिनाकै उच्च सुधार हो ।

मंगलबार र बुधबार भने कार्यदलको कार्यान्वयनले दिशा नलिँदा लगानीकर्तामा कन्फिडेन्स कायम हुन सकेन । यद्यपि गत शुक्रबारदेखि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेका थिए । जसको प्रभाव आइतबारभन्दा पछि पर्न सकेन ।

बुधबार भने एकाएक नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै कार्यदलको सुझावअनुसार सेयर धितो कर्जामा ६५ प्रतिशतसम्म मार्जिन कर्जा दिन पाइने, सेयर कर्जाको जोखिम भारित १०० प्रतिशतमा झार्ने, कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर कर्जा दिन पाउने लगायत व्यवस्था गर्यो ।

यो व्यवस्थाले लगानीकर्ताको खुसीको सीमा रहेन । यसदिन त, नेप्सेमा फेरि रकमको खोलो बग्यो, परिसूचक पनि ३० अंकले उचालियो । बैंकहरुले ब्रोकरको लाइसेन्स पाउने विषय पनि हटकेक नै बनेको थियो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से ४ दशमलव २२ प्रतिशतले बढेर परिसूचक १ हजार २ सय १५ दशमलव १६ अंकमा पुगेको छ ।

नेप्सेमा उछाल हासिल हुँदा यससाता सेयर बजारमा कारोबार रकम पनि उल्लेख्य बढेको छ । यससाता बजारमा करिब ४ अर्ब रुपैयाँका सेयर किनबेच भएका छन् । कारोबार रकम अघिल्लो साताभन्दा ७७ दशमलव ३४ प्रतिशतले बढी हो भने पछिल्लो महिनाको अन्य साताभन्दा तेब्बर बढी हो ।

नेप्सेका अनुसार यससाता बजारमा १ सय ९२ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार ३९ हजार ७ सय २९ कारोबारबाट ३ अर्ब ९२ करोड ८६ लाख ६० हजार रुपैयाँका सेयर किनबेच भए । यसक्रममा १ करोड ११ लाख ३७ हजार कित्ता सेयर कारेबारमा आए ।

अघिल्लो साता बजारमा २ अर्ब २१ करोड ५२ लाख ९० हजार रुपैयाँ बराबरको सेयर बिनबेच भएका थिए ।

नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ प्रतिशतले बढेर २ सय ५८ दशमलव ६६ अंकमा आईपुगेको छ ।

नेप्से बढ्दा यससता लगानीकर्ताले ६४ अर्ब रुपैयाँ लगानी फिर्ता पाएका छन् । नेप्से निरन्तर घटेर आजित भएका लगानीकर्ताको कूल सम्पत्तिमा परिसूचक बढ्दा ६३ अर्ब ८५ करोड रुपैयाँ बढेको हो । अघिल्लो साताको अन्तिम दिन १३ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको कूल बजार पुँजीकरण साताको अन्तिम दिन १४ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँमा कायम भएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया