सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

म्यानपावर व्यवसायी तामाङविरुद्ध १९ करोडको करछली मुद्दा

आन्तरिक राजस्व अनुसन्धान विभागले स्काई ओभरसिजका मालिक बलबहादुर तमाङलाई करछली गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

तामाङविरुद्ध विगो र जरिवानासहित १९ करोड ५८ लाख रुपैयाँ करछली गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए । तामाङविरुद्ध विभागले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी विगो रकम र १३ कराेडभन्दा बढी जरिवानासहित ३ वर्षको कैद हुनुपर्ने भन्दै मुद्दा दर्ता गराएको छ ।

करछलीकाे आरोप लागेका तामाङ २० वर्षदेखि यो व्यवसायमा सं‌लग्न थिए ।

ताप्लेजुङ घर भएका तमाङले सन् १९९८ देखि म्यानपावर संस्था दर्ता गरी दुबई, साउदी अरब, कतार, मलेसिया र बहाइनमा कामदार पठाउँदै आएका छन् । विशेषगरी उनले दुबईका क्यारिफाेर, म्याकडाेनल्स लगायतका कम्पनीहरुमा कामदार पठाउँदै आएका थिए ।

तामाङको म्यानपावरबाट मात्रै पछिल्लाे २० वर्षमा १ लाख ४४ हजार ७ सय ४७ कामदार पठाएकाे खुलेकाे छ । कामदार पठाउँदा उनले प्रत्येक कामदारबाट ३५ देखि ५० हजार रुपैयाँ तथा राेजगारदाता कम्पनीबाट प्रति कामदार ४ सय अमेरिकी डलर लिँदै आएका थिए ।

तामाङ पछिल्लो सयम भने व्यवसायसँगै नेकपाको राजनितिमा होमिएका थिए ।

तामाङलाई २०७४ मंसिरमा भएको प्रतिनिधिसभा सभा सदस्यका लागि नेकपा ताप्लेजुङ उम्मेदवारमा सिफरिस गरेको थियो। तर, उनले टिकट भने पाउन सकेनन् । तामाङ ताप्लेजुङका पर्यटकीय स्थलको प्रबर्द्धन र विकासमा समेत लागि परिरहेका थिए ।

उनी पार्टीको राजनीतिसँगै व्यवसायीको नेतृत्वमा समेत पुगिसकेका छन् । २०६९ सालमा भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनबाट अध्यक्षमा उनी विजयी भएका थिए । तर, उनले पुरै कार्यकाल भने बिताउन पाएका थिएनन् ।

राजनीतिक पहुँचकै आधारमा पेसा व्यवसाय गर्दै आएका तामाङ म्यानपावर व्यवसायमा सिन्डिकेट लाद्न समेत लागि परेको आराेप लाग्दै आएकाे छ ।

तमाङले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री टेक बहादुर गुरुङले लागू गरेको ‘फ्रि-भिसा तथा टिकट’को समेत विरोध गर्दै आएका थिए ।

उनी यसअघि पनि अख्तियार र सम्पत्ति सुद्धीकरण विभागको फन्दामा समेत परेका थिए । तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले समेत बेलाबेलामा पक्राउ गर्दै बयान लिँदै छाड्दै आएकाेसमेत खुलेकाे छ ।

तामाङको म्यानपावरमा विभागले २०७३ सालमा छापा मारेर काजपत्र नियन्त्रणमा लिएको थियो । विभागले कागपत्र लिएको दुई वर्षपछि अदालतमा मुद्दा दर्ता गराएकाे छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया