आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख

जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (करीब ३४ करोड ७२ लाख रुपैयाँ)मा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछालाई प्रतिकेजी करिब १२ लाख ४९ हजार रुपैयाँ पर्नेछ ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछाको टुना बजारमा सर्वाधिक बढी मूल्यमा किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो। यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

‘टुना किङ’को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए ।

यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए ।

‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ बताए ।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले भने ।

चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया