मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

सौर्य ऊर्जाको उत्पादन र विस्तारमा एनएमबि बैंकले लगानी गर्ने

एनएमबी बैंकले काठमाडौं, बबरमहलस्थित केन्द्रीय कार्यालयको छतमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरी सोही विद्युत प्रयोग गर्ने भएको छ । बैंकले आफ्नो कार्यालयमा खपत भएर बाँकी रहेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने गरी सौर्य ऊर्जा उत्पादन सम्बन्धी नौलो परियोजनामा लगानी गर्न लागेको हो ।

यसका लागि आइतवार एनएमबि बैंक र सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट लिमिटेड (सन) बीच १५ वर्षका लागि सौर्य ऊर्जा स्थापना–जडान–स्वामित्व ग्रहण (बूट) मोडलमा ऊर्जा खरीद सम्झौता (पीपीए) भएको छ । ‘नेट–मिटरिङ’मा आधारित प्रसारण लाइनमा जोडिएको ५० किलोवाट क्षमताको सौर्य ऊर्जा उपभोग गरेर बाँकी रहेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यसका लागि बैंकले लगानी गर्नु नपर्ने सम्झौतामा उल्लेख गरिएको छ । बैंकले सौर्य ऊर्जाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले तोकेको खुद्रा महसुल दरभन्दा कम दरमा खरीद गर्ने छ ।

सनले जडान गरिदिने सौर्य ऊर्जाको विद्युत बैंकले उपभोग गर्दा यसले देशभर सौर्य ऊर्जाको प्रबद्र्धन गर्न ठूलो मद्दत पुग्ने बिश्वास लिइएको छ । छानामुखी सौर्यऊर्जा (सोलार रुफ–टप)बाट उत्पादित विद्युतको प्रयोगले नेपालमा नवीकरणीय ऊर्जाको विस्तार एवं त्यसका लागि वित्तीय लगानीको प्रतिबद्धतालाई पुष्टि गर्ने एनएमबि बैंकको दावी छ । ‘यसले हाम्रो आफ्नो विद्युत् आवश्यकताको एउटा हिस्सा सौर्यऊर्जाबाट पूरा मात्र हुँदैन, नेपालभरी छानामा राखिने सौर्यऊर्जा प्रणालीमा लगानी विस्तार गर्ने कामका लागिसमेत हामी यसको उपयोग गर्नेछौं,” एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने । शुरुमा आफैं प्रयोग गरेर देशभर सौर्य ऊर्जा विस्तारका लागि लगानी गर्ने बैंकको भनाई छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया