सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

शान्तिपूर्ण तवरले चिकित्सा विधेयक पारित हुन्छ: सभामुख महरा

सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न आज पनि शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै महराले यस्तो बताएका हुन् । ‘अघिल्लो बैठकमा जे जस्ता समस्या देखिए पनि अब शान्तिपूर्णा तवरले विधेयक पारित गर्ने गरी छलफल भइरहेको छ’, सभामुख महराले भने, ‘प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमा प्रक्रियागत हिसाबले भाग लिइसकेको छ। सदनको प्रकियामा पनि भाग लिएर पारित गर्न सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’

महराले कांग्रेसले सदनमा उठाएको विषय र विधेयक फरक भएकाले यसमा विवाद गर्नु आवश्यक नरहेको बताए। कांग्रेसले राखेको अस्पतालको नामको किचलो र विधेयक फरक विषय भएको उनको भनाइ छ।

सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो’ सभामुख महराले भने ‘सरकारले छिटो गर्नुपर्छ भनेको छ, त्यो त मान्नुपर्छ, केही न केही भोलि निश्कर्ष निस्केला आशावादी छु ।’

सभामुख महराले कांग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न आग्रह गरेका छन् । ‘लामो समयदेखि संसदीय व्यवस्थामा अभ्यस्त हुँदै आउनुभएका उहाँहरुलाई मर्यादित भएर संसदीय व्यवस्थामा लाग्न मेरो अनुरोध छ’ उनले भने ।

मंगलबारको संसद बैठकमा कांग्रेस सांसदहरुले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टम जानबाटै रोका थिए । यस विषयमा नेकपा सांसद योगेश भट्टराईले विगतमा पनि मन्त्रीले रोष्टममा नगई प्रस्ताव प्रस्तुत गरेको नजीर रहेको बताएका थिए । तर सभामुख महराले भने ‘ सकेसम्म पहिले भएको नजीर नदोहोर्‍याउँ भन्ने हो ।’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया