सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

संसद्‌मा मुठभेडको अवस्था आउन नदिन सभामुखको पहल

प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रुपमा सञ्चालनका लागि सभामुख कृष्णबहादुर महराले पहल सुरु गरेका छन् । उनले संसद बैठकमा जारी अवरोध हटाउन सत्ता पक्ष र विपक्षी दलसँग छलफल गरिरहेका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा आज मुठभेडको संकेत देखिए पछि महराले छलफल सुरु गरेका हुन् । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेको जानकारी दिएका छन् ।

उनका अनुसार संसद भवनमा जारी छलफलमा उपसभामुख शिवमाया तुम्वाहाम्फे, प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तारुढ नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ र कानुन मन्त्री भानुभक्त ढकाल सहभागी छन् ।

संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसभन्दा पहिले आफ्ना दुईजना नेताका नाममा रहेका अस्पताल मन्त्रिपरिषदले निर्णय गरेर संघीय सरकार मातहत ल्याउनुपर्ने र चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले भनेजस्तै संशोधन गरेर पारित गर्नुपर्ने अडान राख्दै संसद लगातार अवरोध गरिरहेको छ ।

गत बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी भएको थियो । संसद बैठक आज दिउँसो १ बजे बस्न गइरहेको छ । संसद सचिवालयले बैठकमा झडपको अवस्था आउन सक्ने भन्दै मर्यादापालक थप गरेको छ भने चिकित्सा शिक्षा विधेयक पारित गर्ने अधिकतम प्रयास रहने बताएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया