सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गर्यो

चिकित्सा शिक्षा सुधार र यसअघि भएको सहमतिअनुसार विधेयक पारित हुनुपर्ने माग गर्दै १७ दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसीको मागविपरित संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीचमा संसदले शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारितका लागि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेको प्रस्ताव संसद्मा बहुमतले स्वीकृति गरेको हो । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको थियो ।
शुक्रबार नै नेपाली कांग्रेसको भ्रातृ संस्था नेबिसंघ, विवेकशील नेपाल दल लगायतका राजनीतिक दलले पनि संसद भवन बाहिर प्रदर्शन गरेका थिए । डा. केसीका माग पूरा गरेर मात्रै विधेयक पारित गर्न दबाब दिइएको भए पनि संसदमा प्रतिपक्षीलाई पेलेरै विधेयक पारित गरिएको थियो ।

बैठक सुरु हुनासाथ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आफूहरुको माग पूरा नभएसम्मका लागि सदन चल्न नसक्ने बताउँदै अवरोध कायमै रहने जानकारी दिएकी थिइन् । त्यसलगत्तै वेलमा ओर्लिएका कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए ।
केहीबेरको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

मर्यादापालकको कडा सुरक्षाबीच मन्त्री पोखरेललाई सिटबाट रोष्ट्रममा पुर्याइएको थियो । सत्तापक्षका सांसदहरु पनि मन्त्री पोखरेलसँगै अघि बढ्न लागेका भए पनि सभामुखले सत्तापक्षका सांसदहरुलाई आ–आफ्नो स्थानमा रहन निर्देशन दिएका थिए ।
कांग्रेस सांसदहरुको विरोधका बीचबाटै कडा सुरक्षाका बीच मन्त्री पोखरेल रोष्ट्रममा पुगेका थिए ।

छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेपछि पारितको प्रस्ताव पनि प्रस्तुत भएको थियो । शिक्षा मन्त्री पोखरेलले विधेयक पारित गर्न गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा सभामुखले गरेका थिए ।

कांग्रेसको विरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतका आधारमा संसदबाट पारित चिकित्सा शिक्षा विधेयकका विरुद्धमा सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकबाट सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद भवनमा बैठकलगत्तै सञ्चारकर्मीहरसँग प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा विधेयकमाथि कुनै छलफल नै नगरेर सरकारले अंक गणितको बलमा पारित गरेको टिप्पणी गरे । “दुई तिहाइले अंक गणितको बल देखायो । एक पटक कुनै पनि संवाद गरेन,’’ उनले भने ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया