शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

एउटा बोकाको तौल १६५ किलो

एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो । तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ । बोयर जातको त्यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलामा राखिएको छ ।

मेला अवलोकन गर्न आउनेहरू बोको हेर्न झुम्मिन्छन् । र, सेल्फीसमेत खिच्छन् । सन्धिखर्क नगरपालिका–११ डिभर्नाका किसानले त्यसलाई तीन वर्षअघि ३ लाख रुपैयाँमा किनेका हुन् । त्यो पनि अस्टे«लियाबाट । त्यसपछि सन्धिखर्कको डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल नै बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहमा आबद्ध डिर्भनाका किसानले बोयर जातको बोका क्रस गराएर उत्पादित बाख्राबाट मनग्गे आम्दानी गरेका छन् । यसअघिको तुलनामा उनीहरूको आय तेब्बर पुगेको छ ।

किसानले तीन वर्षअघि १५ वटा बोयर जातका बोका ल्याएका थिए । त्यसपछि मात्र बोयर जातको बाख्रा उत्पादन बढेको हो । परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० किलोसम्म मासु उत्पादन हुन थालेपछि उनीहरूको व्यवसाय फस्टाउँदै गएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया