शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

महासमितिको निर्णय विपरीत कांग्रेस केन्द्रीय समितिबाट विधान पारित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महासमितिको मर्म विपरीत पुरानै व्यवस्थालाई निरन्तरता दिँदै पार्टीको विधान पारित गरेको छ ।संस्थापन इतरका अधिकांश नेताको आपत्ति रहँदारहँदै पनि केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने पुरानो विधानलाई कायम राखिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुरानो बिधान बहुमतबाट पारित गरिएको हो ।  आरक्षणका सन्दर्भमा पनि पुरानै व्यवस्था कायम गरिएको छ ।

महासमितिको बैठकमा केन्द्रीय नेताहरू वडा तहबाट नै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्ने प्रस्ताव गरिएको थियो । जिल्ला सभपतिहरूको उक्त प्रस्तावलाई महाधिवेशन प्रतिनिधिको हलले नै अनुमोदन गरेको थियो ।

तत्कालीन समयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिबाट पारित गर्ने वचनबद्धता व्यक्त गरेका थिए । माघ १० गतेदेखि जारी केन्द्रीय समिति बैठकले महासमिति बैठकको म्यान्डेट विपरीत विधान पारित गरेको हो ।

संस्थापन इतरका नेताहरूको महासमिति बैठकको मागलाई सम्बोधन गर्ने मागका बारेमा सभापति देउवाको कार्यकक्षमा झन्डै ६ घन्टा बैठक बसेको थियो ।

तर,आन्तरिक तयारीको लागि बसेको बैठकले सहमति जुटाउन नसकेपछि संस्थापन पक्षले एकपक्षीय रूपमा बहुमतबाट विधान पारित गरेको नेताहरूले बताएका छन् ।

वरिष्ठ नेता पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेताहरूले लिखित असहमति पेस गरेका छन् ।

बैठकको निर्णयप्रति असन्तुष्ट नेता पौडेलले नेपाल लाइभसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यस्तो महत्वपूर्ण विषय केन्द्रीय समितिको बहुमतबाट निर्णय गर्ने प्रक्रिया नै गलत भएको छ । यो निर्णयले महासमितिको घोर अपमान भएको छ ।’

विधानमा पुरानो व्यवस्था कायम हुँदा १४औं महाधिवेशनमा आफू पक्षका नेताकार्यकर्ताको बाहुल्यता हुने पूर्वानुमानात्मक रणनीति मुताविक विधान पारित गरिएको एक नेताले बताए । सरकार विरुद्ध प्रदर्शनलगायत अन्य विषयतिर लागेर विधानबारे छलफल हुन सकेको थिएन ।

फागुन ९ मा मात्रै विधानको विषयमा छलफल सुरु भएको थियो । तर,त्यस दिन आन्तरिक तयारी गर्न शीर्ष नेताको बैठक बसेपनि कुनै सहमति हुन् नसक्दा बैठक नै नबसी आजलाई सारिएको थियो ।

कांग्रेसका विभिन्न समूहमा सहमति पहिल्याउन नसकेपछि देउवाले निरणार्थ बैठकमा पेस गरेका थिए । उनले बहुमतले पारित गरेएका छन् । केन्द्रीय समितिमा देउवा पक्षको बहुमत छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया