शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

नेकपाका नेता गुरुङले गरे आफ्नी ‘गर्लफ्रेन्ड’को हत्या

नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ । फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेका हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

‘हत्या हुँदा शव फेला पर्नुपर्ने हुन्छ । कोसी नदीमा फालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नुपर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए ।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ ।

हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

महिला बेपत्ता भएपछि गुरुङलेसमेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाब भएको बताएका थिए । हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया