शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

जनकपुरबाट अवैध सुनचाँदीसहित २ भारतीय पक्राउ

जनकपुर प्रहरीले अवैध सुनसहित २ जना भारतीय तस्कर पक्राउ गरेको छ । गएराति जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले सुराकीले दिएको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–१५ लोहना जाने बाटोबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अवैध सुनचाँदीसहित भारत बिहार मधुबनी जिल्ला बासोपट्टी निवासी कृष्णकुमार महतो र परमेश्वर महतोलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट १ सय ग्राम सुन, २५ किलो चाँदी र बिआर ३२ एस ४३५७ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूले मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर सुनचाँदी भारततर्फ लगिरहेका थिए ।

सुराकीको पूर्वसूचनाको आधारमा प्रहरीले मोटरसाइकलको ट्यांकी जाँच गर्दा सुनचाँदी बरामद भएको थियो । बरामद सुनचाँदीको मूल्य मोटरसाइकलसहित २२ लाख १२ हजार ९ सय ५० रुपैयाा बराबर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी बरामद भएको सुनचाँदी र तस्कर सार्वजनिक गरेको हो । पक्राउ परेका दुबैलाई हिरासतमा राखी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

बरामद सुनचाँदी भन्सार चोरी पैठारीमा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया