आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

प्रतिबन्ध नयाँ होइन, दमन गरे मुखतोड प्रतिरोध गर्न तयार छौँ: विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिवसमेत रहेका चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् ।

‘हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘दमन गरे मुखतोड प्रतिरोध गर्न हामी तयार छौं ।’

विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्रतिगामी संविधान’ अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्ललेख गरेका छन् ।

‘चुनाव वहिष्कारका क्रममा हाम्रा तीनजना साथीहरुको हत्या राज्यबाट भयो । हालै कपिलवस्तुको शिवगढी अञ्चलापुरका युवा दुर्गा रोकालाई जंगलमा लगेर गोली हानिएको छ’, विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘रोल्पासहितका जिल्लामा प्रहरी अपरेशन चलाइरहेका बेला प्रतिबन्धको घोषणा गरिनु हाम्रा लागि कुनै ठुलो र नौलो कुरा होइन ।’

प्रतिबन्धलाई नौलो नभनेका विप्लवले प्रचण्डलाई नजोडी अहिलेको सरकारलाई केपी–बादल कम्पनीको संज्ञा दिएका छन् । उनले केपी–बादल कम्पनीले दमन गरेमा त्यसको कडा प्रतिरोध गर्न आफुहरु तयारी अवस्थामा रहेको पनि बताएका छन् ।

‘दलाल’ हरूले तुच्छ स्वार्थका लागि राज्यका अंगहरूलाई जनताविरुद्ध जथाभावी प्रयोग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । चन्दले अरुण–३, वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गरुङको घर र एनसेललगायतमा भएको विस्फोटको जिम्मा लिएका छन् । चन्दा उठाइरहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया