शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

विप्लवको आतंक: कतै बम, कतै आगजनी, कहाँ के भयो ?

जन्तीबसमा आगजनी

कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले एक जन्तीबसमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे उनीहरुले आगजनी गरेका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ४४१ नम्बरको जन्तीको बाजा बोकेको बसमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनी गर्दा बसमा सवार सबैलाई बसबाट ओर्लिन लगाइएको थियो । प्रहरीका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।

रुपन्देही र दाङमा शंकाष्पद वस्तु फेला

रुपन्देहीकाे बुटवल र दाङमा शंकास्पद वस्तु फेला पारिएकाे छ । बुटवल बेलहिया सडकखण्डकाे बुटवल उपमहानगरपालिका-११ स्थित कालिका चाेकमा रहेको ट्राफिक बेरिकेडमाथि नै शंकास्पद वस्तु फेला पारिएकाे हाे ।

बम रहेकाे आशंकामा नेपाली सेनाकाे बम डिस्फाेजल टाेली घटनास्थल पुगेकाे र साे क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-५ बिपि चाेक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएकाे छ । साे वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीकाे टाेलिले नियन्त्रणमा लिएकाे छ ।

शंकाष्पद वस्तु भेटिएपछि बुटवल र तुलसीपुर दुबै स्थानकाे जनजिवन सशंकित बनेकाे छ ।

नवलपरासीमा दुई ट्रकमा आगजनी​

पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ । ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ ।

गोरखा बजारमा बम

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया