मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

महिला साफ च्याम्पियन उपाधिका लागि नेपाल भारतसँग भिड्ने

नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो ।

योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान उत्रिने छन् । फाइनल खेल शनिबार हुनेछ । साफमा सफल राष्ट्र भारतले बुधबार भएको सेमिफाइनमा बंगलादेशमाथि जित निकाल्दा इन्दुमति काथिसानले २ तथा डालीमा चिबेत र मनिषाले १–१ गोल गरिन्।

विराटनगरस्थित सहिद रंगशालामा भारतले १८ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी गोलकिपर अगाडि बढेको मौकामा डालिमाले गरेको प्रहार गोलमा परिणत भएपछि भारत अग्रता लिन सफल भएको थियो । लगत्तै ५ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । भारतको अग्रता दोब्बर बनाएकी इन्दुमतीले ३७ औं मिनेटमा टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थपेको हो । बंगलादेशले सुधारिएको प्रदर्शन गरेपछि भारतले दोस्रो हाफमा गोलका लागि इन्जुरी समय कुर्नुपरेको थियो । भारतका लाग मनिषाले गोल गर्दै ४–० को जित पक्का गरिन् । बंगलादेशको पुनरागमनको प्रयास असफल हुँदा भारत पाँचौं पटक नै फाइनलमा स्थान बनाउन सफल भयो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकामाथि ४–० को जित निकालेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया