बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

कोशी ब्यूरो संयोजक पक्राउः प्रतिबन्ध नहटाए आन्दोलन गर्ने विप्लवको चेतावनी

प्रहरीले मोरङको कानेपोखरी क्षेत्रबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई पक्राउ गरेको छ ।
कानेपोखरी क्षेत्रबाट आइतबार पार्टीका कार्यबाहक कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र कोशी ब्यूरो सदस्य आकाश शर्मा पक्राउ परेका हुन ।

दुबैले केही समययता मोरङमा चन्दा अभियानलगायत पार्टीका गतिविधिलाई तिव्रता दिएको गोप्य सूचनाको आधारमा छापा मारी कानेपोखरी गाउँपालिका वडा नम्बर ४ नारायणचौकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको उत्तरी पहाडी भेग लेटाङ्ग, जाँते, याङ्गशिलालगायत क्षेत्रमा सर्च अभियानलाई तिव्रता दिएको थियो । मोरङमा विप्लव नै आएको भन्‍ने चर्चासमेत चलेपछि प्रहरी निकै चनाखो भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतले पक्राउबारे केही पनि बताएको छैन । शुक्रबार राति मात्र मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जना काभ्रेबाट पक्राउ परेका थिए ।

यसै बीच नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् ।

सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

पर्सि देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ ।

विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया