सोमबार, असार २, २०७६
www.samsararemit.com

भेनेजुएलाका ३६ जहाजमाथि अमेरिकाले लगायाे प्रतिबन्ध

वासिङटन: अमेरिकाले भेनेजुएलाका ३६ वटा जहाजमाथि प्रतिबन्ध लगाएको छ । क्युबामा पेट्रोलियम पदार्थ निर्यात गर्दै आएका ती जहाजलाई शुक्रवार प्रतिबन्धित सूचीमा राखिएको हो । ती जहाजसँगै २ वटा कम्पनी पनि प्रतिबन्धमा परेका छन् ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई राजीनाका लागि दबाब दिन अमेरिकाले यस्तो कदम चालेको हो । अमेरिकाले विपक्षी नेता हुवाँ ग्वाइदोलाई समर्थन गर्दै आएको छ । उसले अन्तरिम राष्ट्रपतिका रूपमा ग्वाइदोलाई मान्यता दिएको छ । योसँगै अमेरिकाको अर्थ मन्त्रालयले लाइबेरियाको मोनरोवियास्थित बालितो बे सिपिङ र ग्रिसको प्रोपर म्यानेजमेन्ट इङ्कलाई पनि कालो सूचीमा राखेको छ ।

क्युबा भेनेजुएलाबाट सबैधन्दा धेरै कच्चा तेल आयात गर्ने गरेको छ । यसको साटो क्युबाले भेनेजुएलामा राजनीतिक सल्लाहकार, गुप्तचर एवं सैन्य अधिकारी र चिकित्सा क्षेत्रका विज्ञ पठाउने गरेको छ ।

उनीहरूबाट मादुरो सरकारलाई सहयोग पुगेको अमेरिकी आरोप छ । उक्त प्रतिबन्धपछि कुनै पनि अमेरिकी नागरिक वा संस्थाले ती कम्पनीसँग कारोबार गर्न पाउनेछैनन् ।

सत्ता र विपक्षको शक्ति प्रदर्शन
भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकासमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।  सत्तारुढ दल युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेसुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका थिए ।

सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष दारिओ भिभासले आफ्ना समर्थकलाई अनिवार्य उपस्थिति हुन आदेश दिएका थिए । सरकार समर्थकहरूले सरकारको पक्षमा नारा लगाउँदै राष्ट्रपति कार्यालय अगाडिसम्म र्‍याली निकालेका थिए ।

विपक्षी दलले पनि देशव्यापी प्रदर्शन गरी मादुरोलाई सत्ताबाट हटाउनुपर्ने माग गर्दै आएको छ । विपक्षी नेता ग्वाइदोले जनमत आफ्नो पक्षमा भएको दाबी गर्दै काराकासमा संघीय संसदीय दरबार बनाउने घोषणा गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया