सोमबार, असार २, २०७६
www.samsararemit.com

सगरमाथाको उचाइ नाप्न सरकारी टोलीको विदाइ

नेपाल सरकारले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आफैं नाप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा सगरमाथाको उचाइ नाप्न जान लागेका नापी विभागका अधिकारीहरूलाई विदाइ गरेका छन् ।

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो । सन् १९९९मा अमेरिकी टोलीले सगरमाथा उचाइ बढेर ८ हजार ८ सय ५० मिटर पुगेको देखाएको थियो ।

‘२०७२ को भूकम्पपछि सगरमाथाको उचाइ के भयो होला भन्ने आमचासो छ । पहिला सरकारसँग प्रविधि र जनशक्ति थिएन,’ नापी विभागका प्रवक्ता दामोदर ढकालले भने, ‘अहिले हामीसँग प्रविधि र क्षमता भएकाले सगरमाथाको उचाइ नाप्न लागेका हौं ।’

सगरमाथाको उचाइ नाप्न जाने टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। उनीहरूको टोलीमा अन्य ट्रेकिङ गाइड पनि सहभागी हुनेछन् ।

प्रवक्ता ढकालका अनुसार सगरमाथा नाप्न गौतम र कार्की सगरमाथाको चुचुरोमा पुग्नेछन् । गौतम यसअघि नै सगरमाथा आरोहण गरिसकेका छन् । उनी सन् २०११ मा सगरमाथा आरोहरण गरेको निजामती कर्मचारीको टोलीमा थिए । कार्कीले पनि आरोहण तालिम लिएका छन् ।

सगरमाथाको उचाइ नाप्न चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लैजाने छ । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गर्नेछ ।

सगरमाथा मापनका लागि अमेरिकाको ट्रिम्बल कम्पनीले विशेष खालको जिएनएसएस रिसिभर सहयोग स्वरूप दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया