मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

कांग्रेसको ओलीलाई प्रश्न बालुवाटारको जग्गा कसले अडप्यो ?

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले २०७५ प्रारम्भ हुँदै गर्दा आम देशवासीका मस्तिष्कमा पलाएको आशा र जाँगरअनुसार कार्यसम्पादन गर्न नसकेको टिप्पणी गरेको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसले २०७५ सालको प्रारम्भमा देशवासीको मस्तिष्कमा पलाएको आशा र जाँगरअनुसार सरकारले कार्यसम्पादन गर्न नसक्दा वर्षको अन्त्यतिर निराशा छाएको बताएको हो ।

‘‘०७५ सालको प्रारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नु भएझै साच्चै केही नवीन आशाका साथ भएको थियो । तर बिदाई भने आशालाई विश्वासमा बदलेर हुन सकेन,’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर भने ।

उपसभापति विलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव कृष्णप्रसाद पौडेलसमत उपस्थित पत्रकार सम्मेलन गएको वर्षमा सरकारले गरेका कामहरुमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनका क्रममा गरेका ‘बढाईचढाई’ मा केन्द्रीत रह्यो ।

कांग्रेसले पत्रकार सम्मेलनमा २०७५ प्रारम्भ हुँदा आम नेपालीको मस्तिष्कमा तीन थरीका आशाहरु पलाए पनि पूरा नभएको स्मरण गराएको छ । पत्रकार सम्मेलन पछि वितरित प्रेस वक्तव्यमा ‘०७५ प्रारम्भ हुँदै गर्दा आम देशवासीका मस्तिष्कमा यस्ता आशा र जाँगर थिए …..’ शीर्षक दिएर कांग्रेसले भनेको छ–

–प्रधानमन्त्री केपी ओलीका सामु अघिल्ला प्रधानमन्त्रीहरुका सामुझै गम्भीर राजनैतिक चुनौति छैन, अतः उहाँले तीव्र ढंगले कार्य गर्न सक्नु हुनेछ । गिरिजाप्रसाद कोइरालाले झै ज्वालामुखीको वातावरणमा शान्ति प्रकृयाको नेतृत्व गर्नुपर्ने, सुशील कोइरालाले झै प्रतिकुलता चिरेर संविधान जारी गर्नुपर्ने या अनेक जटिलता हल गरेर शेरबहादुर देउवाले झै तीन तहको निर्वाचन गर्नु पर्ने स्थिति ओलीका सामु छैन, अतः उहाँले आफ्नो भागको दायित्व गतिशील ढंगले निर्वाह गर्नु हुनेछ ।

–दुई तिहाईको सरकार, सबै प्रदेश सरकारको साथ र बहुमत स्थानीय तहको समर्थन प्राप्त छ, अतः ओली सरकारले छोटो समयमै प्रशस्त कार्य गर्नेछ ।

–प्रतिपक्षी दल नेपाली कांग्रेसको सरकारलाई काम गर्न कुनै असर नपरोस् भनेर सालिन भूमिका निर्वाह गर्ने नीति लिएको छ । अतः सरकारले शान्ति सुरक्षा, संविधानप्रति अपनत्व विस्तार र समृद्धिमा तीव्र गति प्रस्तुत गर्न सक्नेछ ।

प्रतिपक्षी दल कांग्रेसले गएको वर्षमा सरकारबाट ७ वटा शीर्षकमा कुनै पनि प्रगति नभएको दाबीसमेत गरेको छ । उसले सरकारबाट संघीयता कार्यान्वयनमा कुनै प्रगति नभएको, संवैधानिक परिषद् र न्यायपालिकालाई ‘लाचार’ छायाँ बनाएको, मुलुकको अन्तर्राष्ट्रिय छविमा ह्रास आएको, शान्ति सुरक्षामा प्रगति शून्य देखिएको, भ्रष्टाचारमा अपनाइने भनिएको शून्य सहनशीलतालाई ‘सुन्ने सहनशीलता’ मा परिवर्तन गरिएको, समृद्धि यात्रामा देखाइएका सपना र अपेक्षाको तुलनामा प्रगति न्यून रहेको र प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य देखिएको दाबी गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया