मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

गृहको पत्रअनुसार वंशजको आधारमा नागरिकता दिन सर्वोच्चको आदेश

वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले अघिल्लो सोमबार सरकारलाई अन्तरिम आदेश दिएकोमा मंगलबार (आज) अर्को आदेश दिएर त्यसलाई फुकुवा गरेको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले त्यसलाई फुकुवा गरेको हो ।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो । गृहमन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए ।

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीले निर्देशन दिएका थिए । शुरुमा त्यो सर्कुलर आज वैशाख ३ गतेसम्म लागू नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । त्यसको केही मधेशवादी दलले आलोचना समेत गरेका थिए ।

उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र गृह मन्त्री रामबहादुर थापाका नाममा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर, मंगलबारको आदेश अनुसार गृह मन्त्रालयको परिपत्र बमोजिम नागरिकता दिन फुकुवा भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया