बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

श्रीलंकामा विस्फोटः २०७ जनाको मृत्यु–दक्षिण एसियामै त्रास

श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट गराइयो भने दिउँसो थप दुई विस्फोट गराइयो । जसमा यो समाचार तयार पार्दासम्म २०७ जनाले ज्यान गुमाइसकेको र करिब चार सय भन्दा बढी घाइते भएको श्रीलंकाका प्रहरी प्रवक्ताले जानकारी दिएको बीबीसीमा उल्लेख छ ।

श्रीलंकामा कम बाहुल्य भएको क्रश्चियन समुदाय इस्टर पर्व मनाउन व्यस्त भएको मौका छोपेर चर्च र होटलहरुमा छ वटा विस्फोट गराइएको थियो । श्रीलंकाको राजधानी कोलम्बो, मुख्य शहर नेगोम्बो र बाटीकालोआमा उक्त विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र आठौं पटक डेमाटागोडामा विस्फोट भएको थियो ।

उक्त विस्फोटमा नौ जना विदेशी नागरिकहरूको पनि मृत्यु भएको कोलम्बो अस्पतालले पुष्टि गरेको छ। जसमा एक जना चिनीयाँ नागरिक भएको पिपुल्स डेलीले जनाएको छ । तर, कुन राष्ट्रका नागरिक भनेर खुल्न सकेको छैन ।

दक्षिण एसियामा त्रास

श्रीलंकामा भएको आतंकवादी हमलाले दक्षिण एसियामा नै त्रास फैलाएको छ । श्रीलंका सरकारले आइतबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ । सामाजिक सञ्‍जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुक, इन्स्टाग्रामलगायतका सञ्‍जाल बन्द गराएको छ ।

विश्वभरबाट उक्त आतंककारी हमलाको घोर भर्त्सना भइरहेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हमलाप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृङ्खलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।”

प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्टर सन्डेमा भएको विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अपर्ण गरेका छन् । उनले ट्विट गर्दै आवश्यक सहयोग गर्न तयार भएको समेत बताएका छन् ।

टर्कीका राष्ट्रपति रसेप टाइप इर्डोगन सम्पूर्ण मानवमाथिकै ठाडो प्रहार भएको बताएका छन् । उनले ट्विटमा लेखेका छन्, “इस्टरमा भएको आतंकवादी हमला मानवमाथि नै प्रहार भएकोले घोर भर्त्सना गर्दछु । टर्कीका नागरिककातर्फबाट उक्त विस्फोटमा ज्यान गुमाउने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

त्यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, यूरोपियन कमिसनका सभापति जिन क्लाउड जन्केरलगायतले पनि हमलाको घोर भर्त्सना गर्नुका साथै विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली र आफन्तलाई समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पोप फ्रान्सिसले पनि उक्त क्रूरतापूर्ण हमलाको निन्दा गरेका छन् । इरानका विदेशमन्त्री जाभाड जारिफले ट्वीट गर्दै आत‌ंकवादको कुनै धर्म नहुने भएकोले विश्वव्यापीरुपमा हमला भइरहेको बताएका छन् । उनले मृतकप्रति श्रद्धान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् । श्रीलंकाका अर्थमन्त्री मंगल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोट गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । तर श्रीलंकाका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई “आतंककारी घटना” भन्दै दोषी पहिचान भइसकेको बताएका छन्।

उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, “हामी आवश्यक कारबाही गर्छौँ । उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ। यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ । उनीहरूलाई चिनिसकिएको छ ।”

उनले आठवटा विस्फोटमध्ये अधिकांश “आत्मघाती विस्फोट” गराएको बताएका छन् ।

सात जना पक्राउ
बीबीसीका अनुसार हमलामा संलग्न भएको अभियोगमा सात जनालाई नियन्त्रणमा लिइएको छ । जसमा दुई जनालाई डेमाटोगोडा र अन्या पाँच जनलाई कोलम्बोबाट नियन्त्रणमा लिइएको हो । लाइभ मिन्ट डटकमका अनुसार आक्रमणको प्रकृति हेर्दा ‘इस्लामिक स्टेट अट्‍याक’ (आईएस हमला) भएको बताइएको छ । तर, फरेन्सिकले कस्तो प्रकारको विस्फोटक पदार्थ प्रयोग भएको भन्‍ने पुष्टि गरिरहेको छ । त्यहाँको गुप्तचर निकायले हमलाको प्रकृति र अन्य सम्पूर्ण विस्फोटको विषयमा अनुसन्धान गरिरहेको छ ।

यो हमला विश्वकै ध्यान तान्‍ने रणनीतिका साथ योजनाबद्ध तरिकाले गराइएको हुनसक्ने बताइएको छ । “यसमा हामीले दुई कुरालाई विशेष ध्यान दिनुपर्दछ । पहिलो कुरा यो आत्मघाती विस्फोट गराइएको हो । अर्को भनेको भारत र इन्डोनेसियाबाट आईएसले कब्जामा लिइएका युवाहरुलाई यसमा प्रयोग गरिएको हो । तर, यो हमला कसले गराएको भन्ने यकिन भने भइसकेको छैन,” राष्ट्रिय अनुसन्धान निकायका एक जना अधिकारीले नाम नबताउने शर्तमा भनेको लाइभमिन्टले समाचारमा उल्लेख गरेको छ ।

श्रीलंकामा आतंकवादको ठूलो इतिहास छ । लिबरेसन टाइर्गस अफ तामिलले लामो समय त्यहाँ आतंक सिर्जना गरेको थियो । तर, यो हमलामा भने तामिल टाइगरको कुनै संग्लनता नभएको समाचार संस्थाहरूले जनाएका छन् । सन् २००९ मा सुप्रिमो भेलुपिल्लिया प्रभाकरणलाई श्रीलंकन सेनाले हत्या गरेपछि तामिल टाइगरको अस्तित्व समाप्त भइसकेको छ । यसमा कुनै पनि तामिल समूहका व्यक्तिको संलग्नता नभएको ती अधिकारीले लाइभ मिन्टलाई बताए ।

पाकिस्तानमा पनि सुरक्षा सर्तकता बढाइयो
श्रीलंकाको गिर्जाघरमा हमला भएपछि पाकिस्तानमा चर्चमा पनि सुरक्षा सर्तकता बढाएको छ । त्यहाँ पनि हमला हुनसक्ने सम्भावना रहेको औंल्याउँदै सुरक्षा सर्तकता बढाएको जनाइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया