मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

न्यायाधीश नियुक्ति भएका सबैको योग्यता पुग्दैन: नेपाल बार

नेपाल बार एशोसिएशनले केही दिन अघि सर्वोच्च र उच्च अदालतमा नियुक्त भएकामध्ये कतिपय न्यायाधीशको योग्यता र क्षमतामा प्रश्न गरेको छ । यस्ता नियुक्तिले निष्ठावान न्यायाधीश र कानुनव्यवसायीको शीर निहुरेको बारले टिप्पणी गरेको छ । बारले योग्यता नपुग्ने न्यायाधीशको नाम भने उल्लेख गरेको छैन ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल बारले दुईदिन देखि बसेको बारका पूर्वअध्यक्ष, पूर्वमहासचिव सहित सल्लाहकारहरूको बैठकले यस्तो निष्कर्ष निकालेको जनाएको हो।

‘सर्वोच्च र उच्च अदालतमा नियुक्ति भएका कतिपय न्यायाधीशहरूको संविधान र कानुन बमोजिमको अनुभव, योग्यता र क्षमतामा नै गम्भीर प्रश्न खडा भएको छ,’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो नियुक्तिले न्यायपालिकाको गरिमामाथि नै प्रश्न चिन्ह खडा भइ निष्ठावान न्यायाधीश र कानुनव्यवसायीहरूको समेत शीर निहुराउने कार्य भएको छ ।’

न्यायपालिकाका नियुक्तिहरू विवादास्पद बन्दै गएको र पछिल्लो नियुक्ति थप विवादित बनेको भन्दै बारले न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद र अनुमोदन गर्ने संसदीय सुनुवाई समितिको विकल्प खोज्नुपर्ने बेला भएको बताएको छ ।

‘नियुक्ति थप विवादित बन्दै गएको सन्दर्भमा न्यायपालिकाको सुदुर भविष्य स्वतन्त्र सक्षम र निर्भिक रहने कुरामा विश्वास गर्ने आधार कम हुँदै गएको छ,’ नेपाल बारको विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा न्यायपरिषदको संरचना वा संसदीय सुनुवाई वा दुवैको विकल्प सोच्नुपर्ने या त परिषदको कानुनमा संसोधन गरि सदस्यलाई जिम्मेवार बनाउन अपरिहार्य भएको सर्वत्र अनुभुति गरिएको छ ।’

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया