आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

अफ्रिकी मुलुक ‘मरिसस’सँग श्रम सम्झौता, शून्य लागतमा कामदार जान पाउने

नेपाल र मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शत वार्षिकीका समारोहका अवसरमा अफ्रिकी मुलुक मरिसससँग मंगलबार श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्ने सम्बन्धमा दुवै देशको सहमति जुटेपछि नेपाली कामदारहरु मरिसस जान पाउने श्रम मन्त्रालयले जनाएको छ । समझदारीमा कामदारको सम्पूर्ण लागत रोजगारदाताले नै बेहोनुपर्ने उल्लेख छ ।

समझदारीपछि नेपाली कामदारहरु अफ्रिकी मुलुक मरिससमा शून्य लागतमा जान पाउने छन् । अफ्रिकी मुलुक मरिसससँग यो पहिलो श्रम समझदारी भएको हो । यसअघि मरिससमा श्रम स्विकृति लिएर नेपाली कामदारहरु जान पाउने प्रावधान थिएन ।

अफ्रिकी मुलुक भएपनि नेपालसँग रहनसहन मिल्दोजुल्दो भएकाले यसबाट कामदारलाई थप सहज हुने विश्वास गरिएको छ ।

आइएलओको शर्तवार्षिकीका अवसरमा सहभागी रहेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले यसै अबसरमा मरिसस र युएईसँग हुन लागेको श्रम समझदारीमा श्रमिकहरुका अवसर र चुनौतीको पहिचान गरी दिगो सम्बन्ध स्थापित हुने गरी श्रम समझदारी भएको बताएका छन् ।

मरिससमा कृषि, उद्योग, होटल, रेस्टुराँ, पर्यटन लगायत विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरु रहेको उल्लेख  छ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया