शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

२ मिटर लामो डाइनोसरको तिघ्राको हड्डी भेटियो

एजेन्सीः वैज्ञानिकले दक्षिण–पश्चिमी फ्रान्समा उत्खननका क्रममा डाइनोसरको २ मिटर लामो तिघ्राको हड्डी फेला पारेका छन्  । फ्रान्सको औजेक क्षेत्रमा फेला परेको सो हड्डी सोरापाड डाइनोसरको भएको अनुमान गरिएको छ । लामो घाँटी र पुच्छर भएका ती डाइनोसरले बोटविरुवा खाने गर्थे ।

जुरासिक युगको अन्त्यतिर पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येकाे स्थलचर थिए । फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको जीवाश्मका जानकार वैज्ञानिकले बताएका छन् ।

नेसनल हिस्ट्री म्युजियम अफ पेरिसका रोनान एलेनले लो प्यारिजियन पत्रिकासँग भने, ‘हामी मांसपेशी, स्नायु र दाग देख्न सक्छौं । यति ठूलो अंश आफैंमा टुक्रिने सम्भावना धेरै हुने भएकाले यत्रो टुक्रा प्राप्त हुनु दुर्लभ कुरा हो।’

सोरापाड डाइनोसर १४ करोड वर्षपहिले अस्तित्वमा थिए र तिनीहरूकाे ताैल ४० देखि ५० टनसम्म थियाे । सन् २०१० मा पनि एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो । जसको लम्बाइ २ मिटर र तौल ५ सय किलोग्राम थियो ।

यो हड्डी बाहिर निकाल्न पनि एक साता लाग्ने र क्रेन चाहिने बताइएको छ । कोन्याक नगरनजिकै पर्ने साराट क्षेत्रस्थित अंगुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकले काम गरिरहेका छन् । सन् २०१० यता सो क्षेत्रबाट साढे ७ हजार बढी जीवाशेष फेला परिसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया