मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

आइसिसीको वरियतामा पारसको फड्कोः भारतका हार्दिक पछि परे

आइसिसीले सार्वजनिक गरेको नयाँ टी२० वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ठूलो फड्को मारेका छन् । टी२० को अलराउन्डरतर्फको वरियतामा पारस १४ स्थान माथि उक्लिएका छन् ।

९० अंकसहित पारस नयाँ वरियतामा २५ औं स्थानमा उक्लिएका छन् । न्युजिल्यान्डका मिचेल सान्टनर, भारतका सुरेश रैना र जिम्बाब्वेका एल्टन चिगुम्बुरासँगै समान ९० अंकका साथ पारस २५ औं स्थानमा रहेका छन् । यसअघि उनी ३९ औं स्थानमा थिए ।

मलेसियाविरुद्धको टी२० सिरिज र सिंगापुरमा भएको एसियन छनोटमा उत्कृष्ट प्रदर्शन गरेका कारण पारस वरियताक्रममा माथि उक्लिएका हुन् । १४ स्थान उक्लिने क्रममा पारसले विश्वका कैयौं उत्कृष्ट खेलाडीलाई पछि पारेका छन् ।

न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोम, इंग्ल्यान्डका डेभिड विल्ली, साउथ अफ्रिकाका क्रिस मोरिस, इंग्ल्यान्डकै जोए रुट, भारतका हार्दिक पाण्डे, बंगलादेशका सौम्य सरकार, वेष्ट इन्डिजका आन्द्रे रसेललगायत टी२० क्रिकेटका चर्चित खेलाडीलाई पारसले उछिनेका हुन् ।

नेपालका अर्का भरपर्दा अलराउन्डर सोमपाल कामी भने नयाँ वरियतामा पनि पुरानै स्थानमा यथावत रहेका छन् । ४९ अंकका साथ सोमपाल ६६ औं स्थानमा रहेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया