सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

सुमार्गीको सवा २ अर्ब रकम शुद्धीकरणको फाइल सर्वोच्चले माग्यो

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीले नेपाल स्याटलाइट टेलिकमका लागि भन्दै भित्र्याएको सबा २ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धीकरणको सक्कली फाइल मगाउने आदेश गरेको छ । सर्वोच्चले नेपाल राष्ट्र बैंकले रोक्का गरेर राख्दा विभागले तयार गरेको फाइल अदालत पेश गर्न भनेको हो ।

बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलाशले २ वर्षपछि यो विवादमा फैसला सुनाउनका लागि आवश्यक विवरण मगाएको हो । सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको थियो ।

दूरसञ्चार कम्पनी विस्तारका लागि भन्दै वैदेशिक लगानी भित्र्याउँदा राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट सुमार्गीले २०७४ माघ २१ गते रिट हालेका थिए ।

उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजवबहादुर केसीको इजलासले माघ २३ गते चाहेको बेला निकाल्न दिन अन्तरिम आदेश जारी गरेको थियो । सुमार्गीको पैसा रोक्ने निर्णय गैरकानुनी देखिएको सर्वोच्चले भनेको थियो ।

रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न भनेको थियो । पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो ।

विदेशबाट लगानीका लागि भन्दै ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद भएको भन्दै नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का राखेको थियो ।

सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्र अनुसार बैंकले बाँकी निकासा रोकेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया