बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

गृहले गाई मार्नेलाई कारवाही गर्ने: चार सदस्यीय छानबिन समिति गठन

गाई मार्नेलाई कारवाही गर्ने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ । अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी गराउँदै शनिबार गृहले दोषीलाई कानुन बोमोजिमको कारवाही गर्ने प्रतिबद्धता जनाएको हो ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृहमन्त्रालय प्रतिबद्ध रहेको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ’, मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको थियो । नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालिएकाे हो ।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका थिए । गृहका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन्। रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।

गृहमन्त्रालयले गौहत्याको छानबिन गर्न समिति समेत गठन गरेको छ । समितिलाई १५ दिनको समय दिइएको छ । गृहले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेकाे हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया