शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

बैंकको १८ करोड घोटाला काण्डः थप दस जना पक्राउ, निक्षेप कर्ता सशंकित

देव विकास बैंकको झन्डै १८ करोड घोटाला काण्डमा प्रहरीले थप दस जनालाई पक्राउ गरेको छ । घोटाला काण्डमा यसअघि पक्राउ परेका घोराही वडा नं. १५ भरतपुरका २९ वर्षीय समीर बुढाथोकीको बयानका आधारमा थप दस जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

बुढाथोकी बैंकका प्रबन्धक हुन् । उनको बयानका आधारमा प्रहरीले पछिल्लो समय थप दस जनालाई पक्राउ गरेको जनाएको छ‍ । पक्राउ पर्नेमा घोराही-१० का ४७ वर्षीय वसन्तबहादुर बस्नेत, सोही ठाउँका २६ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ वर्षीय झगबहादुर सी, ३७ वर्षीय उज्वल आचार्य, ५४ वर्षीय सतकुमार पौडेल छन् ।

त्यस्तै घोराही-८ का ४३ वर्षीय वसन्त बुढाथोकी, घोराही-१४ की २४ वर्षीया बन्धना गुप्ता, घोराही-१५ का ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, घोराही-१० का ४५ वर्षीय सक्टुराम गुप्ता र घोराही उपमहानगरपालिका वडा नं. १४ का ३१ वर्षीय विजयकुमार गुप्तालाई भिन्न मितिमा पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजारस्थित बैंकको करिब १८ करोड रकम हिनामिना गरेको अभियोगमा प्रबन्धक समीर बुढाथोकीलाई प्रहरीले भदौ ३ गते नै पक्राउ गरेको थियो ।

प्रबन्धक बुढाथोकीलाई देव बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । नक्कली ऋणी खडा गरेर उनले रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो । प्रबन्धक बुढाथोकीले नक्कली ऋणी बनाएर बैंकको १८ करोड हिनामिना गरेको आरोप लागेको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया