शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

यू–१९ एसिया कपमा यूएई विरुद्ध नेपालको सान्त्वना जित

१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गर्दै सान्त्वना जित निकालेको छ । मंगलबार भएको खेलमा यूएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो ।

नेपालले दिएको २८६ रनको विशाल लक्ष्य पछ्याएको यूएईले ३४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२५ रन बनायो । यूएईका लागि भ्रिटिया अर्भिन्द २८, अलिसान शर्फु २१, ओसमान हसन १६, सायद हाइदेरले १५, र असान टन्दोन १२ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आरिफ शेख, राशिद खान र सूर्य तामाङले समान दुई–दुई विकेट लिए । त्यस्तै कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । नेपालले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो । त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपालले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो । दुवैजनाले रन भने बनाउन सकेनन् ।

नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए । १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए । त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए । उनले ८४ बलमा ९ चौका र १ छक्काको सहयोगमा यो योगफल तयार पारेका हुन् । रोहितपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए । भीम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे ।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे । कुशल मल्लले २२ रन बनाए । बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले एक विकेट लिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया