बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

अब २५ लाख माथि कारोबार गरे तीनपुस्ते विवरण खोल्नुपर्ने !

ठूलो कारोबार गर्ने व्यक्ति कम्पनी वा संस्थाले तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ । सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई गर्ने भन्दै कार्यान्वयनमा ल्याउन लागेको निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखेको छ । कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यो प्रावधान ल्याउनुपरेको सरकारको भनाई छ ।

अब कुनै पनि काम गर्दा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने भएको छ । पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गर्नुपर्ने छ । अस्थायी ठेगाना, रहनसहन विवरण, आयस्रोतको विवरणसमेत भर्नु पर्ने निर्देशिकामा उल्लेख छ । यो नियम १ असोजबाट लागू हुँने छ ।

व्यक्ति वा संस्थासँग उल्लेखित विवरणहरु माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने भएको छ । कसुस हेरेर १ करोड रुपैयाँसम्मको जरिवाना कम्पनीलाई तोकिएको छ ।

२५ लाखभन्दा माथिको सुन एकैपटक कुनै व्यक्तिले पसलबाट खरीद गर्‍यो भने अब पसलले उक्त ग्राहकको तीन पुस्ते व्यक्तिगत विवरण र ल्याप्चे र आधिकारिक हस्ताक्षरसमेत राख्नु पर्ने हुन्छ । कम्पनीहरुले कारोबार गर्ने व्यक्ति र संस्थाको नाम, ठेगाना, पेशा, परिवार र रहनसहनको जानकारी नदिई कारोबार गरेमा पनि स्वयं कम्पनीमाथि कारवाही हुने छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनहरुले उच्च पदस्थ व्यक्तिहरुलाई जोखिमपूर्ण सूचीमा राखेका हुन्छन् । त्यसकारण उनीहरुको कारोबार बढी निगरानी गर्ने गरिन्छ । अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्छ ।

कुनै पनि कम्पनी वा व्यक्तिले १० लाख वा सो भन्दा बढीको शेयर खरीद गरेमा स्रोत खुलाउनुपर्ने भएको छ । कुनै पनि व्यक्ति तथा संस्थाको असामान्य कारोबार देखिए व्यक्तिगत विवरण र कारोबारको विवरणसहित गोप्य रुपमा सम्पत्ति सुद्धिकरण विभागमा पठाउनु पर्ने दायित्व पनि अब सम्बन्धित कम्पनीहरुको हुने छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया