मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

प्रधानमन्‍त्री ओली र सभापति देउवा बीच बालुवाटारमा तीन घण्टा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच तीन घण्टा छलफल भएको छ । छलफलमा  प्रधानमन्त्री शर्मा ओलीले अब विधेयक ल्याउँदा दलहरुबीच छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

ओलीले देउवासँग हरेक विधेयक ल्याउँदा दलहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका हुन्। यसबीच पार्टी एकतामा आफूले बढ्ता ध्यानदिनुपर्ने भएका कारण दलहरूबीच भेटघाट पातलिएको ओलीको भनाइ थियो । ‘हामीले ल्याएको व्यवस्थाको रक्षा र संविधानको कार्यान्वयनका लागि दलहरू मिलेरै जानुपर्छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले बाँके घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘घटनाका दोषीलाई कारबही हुन्छ। यसका लागि हामी मानसिक रूपमा तयार छौँ’, ओलीले भने, ‘पीडित पक्षको जाहेरी प्रशासनले लिन्छ । सदनका गतिविधि सुचारु हुन दिनुहोस्।’

करिब तीन घण्टा भएको छलफलमा पछिल्लो समय सरकारले आफूखुसी निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । कांग्रेस नेताहरूले सरकारले ल्याएका कतिपय विधेयक संघीय गणतन्त्रको मर्मविपरीत भएको भन्दै सच्याउन माग गरेका थिए । देशमा शान्ति सुरक्षा खस्किँदै गएको प्रसंग पनि उठाए ।

‘सत्तापक्षले जनतामा निराशा जगाउने काम मात्रै गर्‍यो’, प्रधानमन्त्रीसमक्ष सभापति देउवाले भने, ‘यसले सबै राजनीतिक दललाई नकारात्मक प्रभाव पार्छ । व्यवस्थामाथि पनि खतरा पैदा गर्छ।’ सर्वसाधारण र प्रेसका अधिकार कुण्ठित गर्ने गरी विधेयक ल्याइएकामा उनले सरकारको कडा आलोचना गरेका थिए । भूमि, मिडिया काउन्सि, सूचना प्रविधि, मानव अधिकारलगायत विधेयक संविधानको मर्मअनुसार नभएको उनको भनाइ थियो ।

कांग्रेसका नेताले जागरण अभियानका क्रममा नेकपा नेताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको विषयलाई पनि गम्भीरतापूर्वक उठाएका थिए । प्रधानमन्त्रीसँग समय मागेर बालुवाटार पुगेका उनीहरूले घटनाका दोषीलाई कारबाहीको माग गरे । कांग्रेसले संविधानको मर्मअनुसार प्रदेश सरकारले काम गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया