शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

नेकपा बिबादः माधव र मातृकालाई कारबाहीको माग गर्दै हेडक्वाटरमा उजुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा जिल्ला कमिटी गठनको विवाद उत्कर्षमा पुगेको छ । विवादकै कारण नेता/कार्यकर्ताहरु हात हालाहालको अवस्थामा पुगेका छन् ।

जिल्ला कमिटी गठनमा मापदण्डविपरीत प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले एकलौटी र मनपरी गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । पार्टीका पुराना र इमानदार नेता‍/कार्यकर्तालाई पाखा लगाएर आफू निकट र पार्टीको साधारण सदस्य नै नरहेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको उनीहरुको आरोप छ ।

एकपक्षीय ढंगमा गठन गरिएको जिल्ला कमिटी सच्याउन र प्रदेश अध्यक्ष साहलाई कारबाही गर्न असन्तुष्ट पक्षले नेकपा सचिवालयमा निवेदनसमेत दर्ता गराएका छन् । अध्यक्ष साह र सचिव प्याकुरेल पक्षले भने कार्यकर्ताको असन्तुष्टिलाई ‘ठूलो संगठनभित्रको स्वभाविक प्रक्रिया’ भन्दै सामान्य रुपमा अर्थ्याउने गरेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण प्रक्रियासँगै २०७५ जेठ ३ गते नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो । केन्द्रीय कमिटीमा प्रदेशअन्तर्गतका एमाले र माओवादी केन्द्र दुवैतर्फका केही महत्वपूर्ण नेताहरु पाखा लागे ।

त्यसपछि प्रदेश र जिल्ला तहमा कमिटी गठनको प्रक्रिया सुरु भयो । केन्द्रीय सचिवालयको २०७६ बैसाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्न एउटा मापदण्ड बनायो । जिल्ला कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्नेगरी तयार गरिएको मापदण्द केन्द्रीय कार्यालयले गत बैसाख ९ गते जिल्ला इकाईहरुमा परिपत्र गर्‍यो ।

सोहीअनुसार जिल्ला कमिटी बनाइयो। तर, प्रदेश २ मा पूर्वएमाले र माओवादी दुवै पक्षका केही नेता/कार्यकर्ता कमिटी बहिर परे। त्यसमा अध्यक्ष साह र सचिव प्याकुरेलले चलखेल गरेको आरोप छ। सोही समयदेखि उनीहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया