शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

नेपाल-चीन १४ बुँदे संयुक्त वक्तव्यः केरूङ-काठमाडौं सुरूङमार्ग बन्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको उल्लेख गरिएको छ ।

वक्तव्यको पाँच नम्बर बुँदामा भनिएको छ- दुई देशबीचको सुदृढ कनेक्टिभिटीको महत्व महशुस गर्दै केरूङ-काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुबै देश सहमत भएका छन् ।

सरकारले केरूङ-काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याप्रुवेंशीसम्म सुरूङ मार्ग बनाउने बताएको छ ।सुरूङ मार्ग बनाउन दुबै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन् । संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ ।

‘सन २०१८मा रेल्वे सहकार्यका लागि भएको एमओयूको स्मरण गर्दै दुबै देश आजै हस्ताक्षर भएको अर्को एमओयूअनुसार क्रस ब्रोडर रेल्वे लाइन निर्माणमा कोशेढुंगा हुने सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन् । काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाउन सहकार्य बढाउने विषयमा दुबै देशले प्रतिवद्धता दोहोर्‍याएका छन्,’ वक्तव्यमा भनिएको छ ।

त्यस्तै स्वर्गीय नेता मदन भण्डारीको नाममा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न पनि दुई देश सहमत भएका छन् । नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानी बढाउने विषयमा पनि दुबै देशले सम्झौता गरेका थिए । चिनियाँ पक्षले सिचुवान प्रान्तको राजधानी छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्न सहमति दिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया